सिन्धुपाल्चोक १ मा माधव र सरेशको रोचक भिडन्त, निर्णायक बन्दै चौतारा साँगाचोकगढी

दिनेश दुलाल
मंसिर ७, चौतारा । मंसिर ४ मा भएको निर्वाचन लगत्तै देशभरको मत परिणाम आउनेक्रम जारी छ । मतगणना जारी रहँदा सिन्धुपाल्चोक १ मा भएको रोचक भिडन्तले भने सबैको ध्यान आकृष्ट पारेको छ । यो क्षेत्रमा प्रतिनिधिसभाका लागि वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ‘सुवोध’ र एमालेका उम्मेदवार सरेश नेपालबीच कडा प्रतिश्पर्धा भएको छ ।

वाँया एमालेका उम्मेदवार सरेश नेपाल र दायाँ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ‘सुवोध’

प्राप्त विवरण अनुसार यो क्षेत्रको ४६, ६६६ मत गन्दा सापकोटाले १८,८६७ मत पाएका थिए भने नेपालले १८,८३२ मत पाएका थिए । बलेफी पुग्दा सापकोटाले मतान्तरलाई फराकिलो बनाउन सफल भएका छन् । पछिल्लो १ बजे सम्मको विवरण अनुसार बलेफी १ देखि ४ सम्मको मतगणना सक्दा सापकोटाले ४८४ मतले अग्रता लिएका छन् ।
भोटेकोशी र बाह्रबिसे सम्म गनिसक्दा ११ सय भन्दा माथिको मतान्तरणले वाम लोकतान्त्रिकका उम्मेदवार सापकोटालाई पछि पारेका एमाले तर्फका उम्मेदवार नेपाल बलेफी आईपुग्दा पछि परेका हुन् । सापकोटाले त्रिपुरासुन्दरीको १ नम्बर वडा घोर्थलीको मत गन्दा केही मतान्तर घटाउन सकेका थिए । त्रिपुरासुन्दरी र सुनकोशी गनिसक्दा थोरै मतको अन्तरले नेपालले अग्रता लिएका थिए । तर लिसंखुपाखरले सापकोटाको पक्षमा पुर्ताल गर्न सक्यो ।

बलेफीको बाँकी रहेको २ वडाको पनि मतगणना भईरहेको छ । त्याहाँ पनि नेपाल भन्दा सापकोटा केही मतान्तरले अगाडि छन् । त्यसपछि अब बाँकी रहेको जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको ५ वटा वडा मतगणना हुन बाँकी रहेको छ । जुगल गाउँपालिकामा खसेको मत ८,९४२ रहेकोमा दुवै उम्मेदवारलाई आधा आधा बाँडिन सक्ने अनुमान गरिएको छ । यद्यपि एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार होमनारायण श्रेष्ठको क्षेत्र भएकोले नेपाललाई केही बढी जान सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर जुगल सम्म पुग्दा केही मतले नेपाल अगाडि लागेपनि चौतारा साँगाचोकगढी नगरपालिकाको ४ नम्बर वडा अर्थात कुविण्डे आफ्नो पक्षमा निर्णायक हुन सक्नेमा सापकोटा ढुक्क छन् ।

दुई मतदान स्थल रहेको यो वडामा देउराली र सेतीदेवी पञ्चकन्या मावि गरी २,०४३ मत खसेकोमा ८० प्रतिशत मत गठबन्धनलाई खसेको उनीहरुको दावी छ । त्यस्तै वडा नम्बर ३ बाहेक स्थानीय तहमा नेपाली कांग्रेसले जितेको २, ९ र १० नम्बर वडाको मत दुवै उम्मेदवारलाई बराबरी भएपनि कुविण्डेकै मत निर्णायक हुनसक्ने धेरैको अनुमान छ । यदि कुबिण्डेबाट गठबन्धनले अनुमान गरे अनुसार १६ सय मत सापकोटाले प्राप्त गरेमा सोही मतान्तरले विजयी हुनेमा गठबन्धन ढुक्क छ । यता एमाले उम्मेदवार नेपालले भने जुगलमा सापकोटालाई उछिनेर वडा नम्बर ३ र ९ बाट केही मतको अन्तरले जित निकाल्ने अझै आशावादी देखिन्छन् । पछिल्लोपटक तिब्र गतिमा मतगणना भईरहेकोले आज राती १० बजेसम्म परिणाम निकालिसक्ने निर्वाचन आयोगले तयारी थालेको जनाएको छ । यता २ नम्बर क्षेत्रमा भने गठबन्धनबाटै प्रतिनिधिसभामा मोहन बस्नेत र प्रदेशसभामा युवरा दुलालले भारी मत अन्तरले शेरबहादुर तामाङ र अमानसिं तमाङलाई पछि पारेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) मा भने गठबन्धनकी मसिना खड्का ८३२ मत अन्तरले युद्वविक्रम तामाङलाई पछि पार्दै निर्वाचित भईसकेकी छिन । यो क्षेत्रमा १,३०७०९ मतदाता रहेका छन् ।