जनतमा असन्तुष्टी र विद्रोह भाव छचल्किएको छ– स्वतन्त्र उम्मेदवार पराजुली

असोज २४,
चौतारा । पूर्व माओवादी नेता स्वतन्त्रका उम्मेदवार ध्रुवप्रसाद पराजुलीले यतिबेला जनतामा व्यापक असन्तुष्टी र विद्रोह भाव छचल्किएको बताएका छन् । आईतबार सिन्धुपाल्चोक २ नम्बर क्षेत्र प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका पराजुलीले सञ्चारकर्मीहरुसंग यस्तो बताएका हुन् ।

उम्मेदवार दर्ता गरेर फर्किएका स्वतन्त्र उम्मेदवार ध्रुव प्रसाद पराजुली

उम्मेदवारी दर्तापछि जिल्लाका सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानीका क्रममा नेता पराजुलीले जनतामा असन्तुष्टीको कारण राजनीतिक दलहरुले दिएको भद्दा खालको सेवा र कार्यशैली कारक रहेको उनले बताए । ‘दलहरुले जुन सेवा दिएको भनेका छन् त्यसप्रति जनता पूर्ण असन्तुष्ट छन्’, पराजुलीले भने । जनताको असन्तुष्टी र विद्रोह भावलाई आफूले नेतृत्व प्रदान गर्न उम्मेदवारी दिएको उनको भनाई छ । ‘त्यो असन्तुष्टीलाईं व्यक्त गर्ने विविध माध्यामहरु तरिका हुनसक्छन् । तर अहिले प्राप्त मताधिकार मार्फत त्यो असन्तुष्टी अभिव्यक्ति जाहेर गर्ने अवसरलाई मैले विद्रोहात्मक तरिकाले समेट्न कोशिस गरेको हुँ’, पूर्व पोलिव्युरो सदस्य समेत रहेका पराजुलीले भने ।


मंसिर ४ को निर्वाचनमा जनताले अघिपछि भन्दा भिन्न ढंगले आफ्नो मत जाहेर गर्न खोजिरहेको उनले दावी गरे । परिणाम जस्तोसुकै आएपनि स्विकार्न तयार रहेको बताउँदै पराजुलीले परिस्थितिलाई टुलु–टुलु हुरेर आफू बस्न नसकेको बताए । परिवर्तनकारी चेतना भएका जनताहरुले आफूलाई साथ दिनेमा आफू ढुक्क भएको उनले सुनाए । आफूसंग योजना, र सहि दृष्टिकोण भएकाले आधारभूत जनताको भावनालाई समेट्ने उनले दावी गरे । जनताको चेतनास्तरलाई एक स्टेप भएपनि माथि उठाउन सकियो भने आफूले त्यसलाई सफलता ठान्ने उनको भनाई छ । अर्को एक प्रश्नमा उम्मेदवार पराजुलीले माओवादी केन्द्र विचार, शिद्वान्तबाट स्खलित भएको समेत आरोप लगाए । ‘माओवादी पार्टी सुरुवाती विचार, शिद्वान्त र व्यवहारबाट क्रमश ः च्युत हुँदै गयो त्यो कुराको व्यवहारिक रुपमा अनुभूति स्वयं मैले पनि गरें’, पराजुलीले भने । आफू विचार र व्यवहार केही नमिलेको अवस्थामा एक ठाउँमा बस्नु भनेको अनैतिक हुन्छ भन्ने ठानेर २०७० सालबाट औपचारिक रुपमै पार्टीबाट बाहिरिएको उनले सुनाए ।


जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता मानिने पराजुली शान्ति प्रक्रियामा आएपछि पार्टीमा पछि परेका थिए । पार्टीभित्र वैचारिक रुपमा बिचलन आएको भन्दै २०७० सालमा पार्टीको पोलिटव्युरो सदस्यबाट राजीनामा दिएका थिए । पछिल्लो पटकको उनको राजनैतिक सक्रियताले उनी पक्षधरतालाई उत्साहित बनाएको उनीसंगै मनोनयन दर्तामा सहभागी स्थानीयले प्रतिक्रिया दिए ।

चौतारा साँगाचोकगढी नगरपालिका–१२ फँलाटेका बासिन्दा रहेका पराजुलीले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी पछि ठूला दलहरुमा समेत निकै ठूलो हलचल पैदा भएको जानकारहरु बताउँछन् ।