गरगहना चम्काउने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

चैत्र २४, चौतारा (सिन्धुपाल्चोक) । गरगहना चम्काउने बाहानामा ठगी गर्ने दुइ भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

मेलम्चीको एक टोलमा ठगी गर्दै गरेको अवस्थामा भारत देश प्रान्त विहार घर बताउने वर्ष २१ को राजा कुमार शाह र सोहीका वर्ष २४ का अनिल शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार मेलम्ची नगरपालिका वडा नं.९ चाङखु टोल बस्ने मान वहादुर तामाङ समेतका ८ जना मानिसहरुको घरमा गई उनीहरुले सुनचाँदीका गरगहना तथा तामा पित्तलका भाँडाकुँडाहरु चम्किलो र सफा गरिदिने बहानामा ठगि गरिरहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

पक्राउ परेका उनीहरुलाई सुनका गरगहनाहरु सफा गरिदिनन्छु भन्दै कम तौलको बनाएर ठगीगरी फरार भएको विशेष सूचनाको आधारमा खोजतलास गर्दा फेला पारिएको उनले बताए । उनीहरुलाई प्रहरीले बुधबार साँझ पाँच बजेको समयमा ईन्द्रावति गाँउपालिका वडा नं. ४ स्थित नवलपुर बजारबाट नियन्त्रणमा लिएको थियो । खानतलासी गर्दा उनीहरुको साथबाट भाँडाकुडा तथा सुनचाँदीका गर–गहनाहरु सफा गरि संकलन गरेको पानी बोत्तल सहित बिभिन्न केमिकलहरु समेत फेला परेको सुचना अधिकारी बस्नेतले बताए ।

पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालत चौताराबाट बिहिबार १० को म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनीहरुले अन्यत्र स्थानहरुमा समेत ठगि गरेको हुन सक्ने भएकोले सचेत रहन जिल्ला प्रहरी कार्यालयले सर्व साधारणलाई अनुरोध समेत गरेको छ ।