फागुन २७, चौतारा । सिन्धुपाल्चोक जिल्लाका अग्रज पत्रकार एवम् राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचादारता राम केसी ‘चौतारे’ को ७५ वर्षको उमेरमा निधन भएको छ ।
उनको सिनामंगल स्थित के.एम.सी अस्पतालमा बिहिबार साँझ निधन भएको केसीका पारिवारिक स्रोतले जनाएको छ ।
दमरोग र छातीमा सङ्क्रमणका कारण अस्वस्थ भएका चौतार साँगाचोक नगरपालिका– ७, सानो सिरुवारी निवासी केसी गत कात्तिकदेखि उपचारार्थ थिए । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचाररत थिए ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको पूर्व केन्द्रिय पार्सद्समेत रहेका केसी विसं २०२६ देखि पत्रकारिता सुरु गरेका थिए । उनी विसं २०५३ वैशाख १ गतेदेखि राससमा कार्यरत थिए । केसीले नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता सेनानी सम्मान– २०७४, २०७६ मा कृष्णरत्न गंगा माविद्वारा साहित्य सम्मान, २०७६ मा प्रेस युनियन सिन्धुपाल्चोकबाट सम्मान, २०६० मा दैवीप्रकोक उद्दार पदक, २०५७ मा मिडिया प्वाईन्ट पुरस्कार, २०५४ र २०५७ मा राष्ट्रिय समाचारबाट उत्कृष्ट समाचार लेखन पुरस्कारलगायत दर्जन बढी सम्मान र पुरस्कार प्राप्त गरेका केसीको उत्पीडन (कथा संग्रह २०५०), सुस्केरा र सुसेली (गीति संग्रह २०६०) र नियति (कथा सङ्ग्रह) प्रकाशित छन् ।
यसैबीच सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार एवं साहित्यकार राम केसी ‘चौतारे’ को निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । पाको उमेरसम्म पत्रकारितामा क्रियाशील राम केसी चौतारेको ७५ बर्षको उमेरमा उपचारका क्रममा बिहिबार निधन भएको खबरले आफूलाई दुखित तुल्याएको बताउँदै सभामुख सापकोटाले दिवंगत राम केसी चौतारेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकसन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै सापकोटाले सिन्धु पत्रकारिताको ईतिहासमा अपुरणीय क्षति भएको एक सन्देश मार्फत बताएका छन् ।