लिदी पहिरो प्रभावित परिवारका लागि नेपाली सेनाद्वारा ३१ आवास निर्माण

दिनेश दुलाल
साउन २४, बाँसखर्क (सिन्धुपाल्चोक) । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर–२ लिदी पहिरो प्रभावित परिवारका लागि नेपाली सेनाले ३१ अस्थायी आवास निर्माण गरेको छ ।
२०७७ साउन ३० गते लिदीमा गएको पहिरोका कारण विस्थापित भई सेलाङको बाँसखर्कमा बसेका ३१ परिवारहरुका लागि नेपाली सेना गोरखबक्स गणले निर्माण गरेको अस्थायी आवास आईतबार एक कार्यक्रमका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो । जुगल गाउँपालिका र अन्य सहयोगी संस्थाहरुबाट निर्माण सामाग्रीहरुको व्यवस्थापन तथा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा जुगल गाउँपालिका वडा नम्बर १ बाँसखर्कमा नेपाली सेना, श्री गोरखबक्स गणबाट (श्री कालीसिद्वि गण (ई) को जनशक्ति सहित खट्टिएको दक्ष जनशक्तिद्वारा २०७८ असार १६ गते सुरुवात गरिएको थियो । बाँसखर्कमा विस्थापितहरु अस्थायी टेन्टमा बसेको एकवर्ष पछि निर्माण गरिएको अस्थायी आवासको आज श्री नम्बर २६ बाहिनी अड्डाका बाहिनीपति सायक रथी विष्णु राउतद्वारा जिल्ला व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाले अस्थायी आवास भवन ३१, हेल्थपोष्ट भवन १, क्यान्टिन १, शौचालय ७ वटा र स्नान गृह १ वटा निर्माण गरेको छ ।
नेपाली सेनाले स्थानीय सरकारलाई अस्थायी आवास हस्तान्तरण गरेसंगै जुगल गाउँपालिकाले पहिरो विस्थापितहरुलाई हस्तान्तरण गरेको हो ।
जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आश्रय स्थल हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै २६ नम्बर बाहिनी अड्डाका बाहिनीपति सायक रथी राउतले पहिरो पीडित जनताको लागि नेपाली सेनाको एउटा टुकढीले अस्थायी आवास निर्माण गरिदिएर मानवीय कार्य गरिएको बताए । ‘पीडिति जनताको लागि अस्थायी आवास निर्माण गरिदिनु अत्यान्तै सह्रानीय र प्रशंनीय कार्य भएको छ’, सहायक रथी बस्नेतले भने । नेपाली सेना जनताकै सुरक्षा र सहयोगको लागि निर्माण भएकोले जुनसुकै अवस्थामा पनि जनतालाई साथ र सहयोग गर्ने उनले प्रतिवद्वता जनाए । कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले लिदी पहिरो पीडितहरुलाई स्थायी आवास सरकारको कार्यविधि अनुसार हुने भएकोले तत्कालको लागि अस्थायी आवास उपयुक्त भएको बताए । पहिरो पीडितहरुको लागि स्थायी प्रकृतिको व्यवस्थापनमा जोड दिंदै प्रजिअ पोखरेलले विस्थापितहरुलाई सीपमुलक काम तथा स्वरोजगारको आवश्यकता रहेको औंल्याए ।

अस्थायी प्रकृतिको आवास लिदी पहिरो पीडितहरुलाई बनाएजस्तै बाह्रबिसे, मेलम्ची, हेलम्बु रपाँचपोखरी लगाएत बाढी पहिरो प्रभावित ठाउँहरुमा बनाउन छलफल भईरहेको जानकारी दिए ।
कार्यक्रमका संयोजक तथा गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले लिदी पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गरेर भएपनि थोरै राहतको महसुस गराएको बताए । ‘देशैभरी कतै नभएको प्रक्रिया हामीले अबलम्बन गरेर आवास निर्माण गरेका छौं’, गाउँपालिका राष्ट्रिय माहासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने । बाँसखर्कमा नेपाली सेनाको सक्रियता नभएको भए अस्थायी आवास बनाउन मुश्किल पर्ने अध्यक्ष श्रेष्ठले ठोकुवा गरे ।

पुर्ननिर्माण प्राधिकरण अन्र्तगत पुनर्निर्माण, प्रवलीकरण र पुर्नस्थापना मध्ये तेस्रो सूचक अनुसार लिदी पहिरो पीडित पर्र्ने भएकोले सरकारको कार्यविधि अनुसार स्थायी आवासको लागि काम थालिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले लिदी पहिरो पीडितका लागि एउटै प्रकृतिको एकिकृत बस्ती बसाल्न चाहेको धारणा राख्दै अध्यक्ष श्रेष्ठले शिक्षा, स्वास्थ्य, सीपमुलक तालिम तथा अन्य व्यवसाय समेत गर्न सकिने गरी योजना बनाउन लागिएको बताए । उनका अनुसार जुगलमा २ सय ५८ घरधुरी बाढीपहिरोबाट विस्थापित छन् ।
उक्त अस्थायी आवास निकाण गर्न नेपाली सेनाको गोरखबक्स गण तथा सिद्विकाली गणका ३१ जनाको टोलीले २०७७ पोष २७ गतेबाट काम थालेको थियो । सेनाले ३१ वटा आवास लगाएत संरचना निर्माण सम्पन्न गरेर साउन १७ गते फिर्ता भएको गोरखबक्स गणका प्रमुख सेनानी निर्मल कुमार श्रेष्ठले बताए ।
उनका अनुसार आवास निर्माणको लागि सेनाले प्राविधिक सहयोग भने जिल्ला प्राविधिक कार्यालय संग लिएको हो । जस्तापाताको अस्थायी टहरोमा प्रयोग भएका सामाग्रीको लागि विभिन्न गैरसरकारी संस्थाहरुले सहयोग गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा आवास निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।