नगपालिकाको आफ्नै स्रोतमा दारेगौंडामा भ्युटावर सहितको बुद्वपार्क बन्दै
दिनेश दुलाल
बैशाख १४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिकाको आफ्नै स्रोतमा दारेगौंडामा बुद्वपार्क निर्माण हुने भएको छ ।
जिल्ला सदरमुकाम चौताराबाट एककिलोमिटर दुरीमा रहेको दारेगौंडा पानी ट्याङकी नजिकै ६८ फिट अग्लो बुद्वको मुर्ति सहित बुद्वपार्क र भ्युटावर बन्न लागेको हो ।
नगरपालिकाको ६ करोड २१ लाख ७ हजार ७ सय ६८ रुपैया लागतमा ठेक्का सम्झौता भई बन्न लागेको भ्यु टावर सहितको बुद्वपार्क निर्माणको शिल्यान्यस सभामुख अग्निप्रसाद सापकोटाले सोमबार गरेका हुन् ।
बुद्वपार्क निर्माणको शिल्यान्यास पछिको कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख सापकोटाले बुद्वपार्क निर्माणले गौतम बुद्वको शान्तीको मार्ग, त्याग र सर्मपणलाई मानिसले अनुशरण गर्ने अवसर मिल्ने धारणा राखे । पछिल्लोपटक मुलुकमा विचार विहिन, दर्शन विहिन भएर अराजकता बढेको सन्दर्भमा बुद्वको दर्शन सान्र्दभिक रहेको सापकोटाले स्पष्ट पारे । ‘धर्ति र मानव जातिलाई केही दिने कुरा छ भने त्यो बुद्वविचार पनि हो तर मानवमा अहिले विचारशून्य जस्तै बनेको छ’, सभामुख सापकोटाले भने । दुनिया एकपटक नराम्ररी खतरामा पर्ने सम्भावना रहेको प्रति ईंगित गर्दै सभामुख सापकोटाले बुद्वको दर्शन र शान्ती मार्गको भावनालाई स्मरण गर्ने बेला आएको बताए ।
शिल्यान्यास कार्यक्रमका विशेष अतिथि निवर्तमान सामाजिक विकासमन्त्री तथा बागमति प्रदेश सांसद युवराज दुलालले बुद्वपार्क निर्माण संगै विकासका अन्य पूर्वाधार निर्माणका योजनाहरुलाई एउटै प्याकेजका रुपमा लैजानुपर्ने धारणा राखे ।
आफु सामाजिक विकास मन्त्री हुँदा आफ्नै पहलमा थालिएको साँगाचोकगढी निर्माण, बाँझबिसौना स्थित रानीपोखरीको वृस्तृत योजना हुँदै दिनेश रामजी बहुप्राविधिक विद्यालय, टुँडिखेल रंगशाला निर्माण थालनीको स्मरण गर्दै प्रदेश सांसद दुलालले भूकम्प स्मृति पार्कसंगै वुद्वपार्क निर्माणले पर्यटन, खेलकुल र पूर्वाधार लगाएत विकासमा फड्को मारेको बताए ।
शिल्यान्यास कार्यक्रमका सभापति नगर प्रमुख अमानसिं तामाङले सिन्धुमपाल्चोककै ईज्जत र शान बढाउने गरी पालिकाकै लगानीमा वुद्वपार्क निर्माणको थालनी गरेको बताए । पालिकको आफ्नै स्रोतमा बन्न लागेको वुद्वपार्क निर्माणमा कार्यपालिकाका सदस्यहरुको एउटै साझा मत रहेको बताउँदै मेयर तामाङले नगरको पर्यटकीय विकासमा सुुकुटे हुँदै ओखरेनी सम्म पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
पालिकाको रणनैतिक योजना अनुसार गौरवको आयोजनाको रुपमा वुद्वपार्क निर्माणको थालनी गरिएको उपप्रमुख जानुका पराजुलीले बताईन । आगमी एकवर्ष भित्रै वुद्वपार्क निर्माण सम्पन्न गरिसक्ने प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद पौडेलले बताए । उनका अनुसार नगरपालिकाले वुद्वपार्क निर्माणको लागि गत आ.व मै दुईकरोड छुट्याएको थियो । बाँकी रकम एकवर्ष भित्रै निर्माण संगै नगरले पुर्ताल गर्नेछ ।
२०७८ जेठ २२ गते सम्पन्न गरिसक्ने उक्त आयोजना निर्माणको ठेक्का उमा÷काली÷प्रसिन जे.वि काठमाडौंले पाएको हो । भगवती सामुदायिक बन क्षेत्रभित्र बन्न लागेको वुद्वपार्क चौतारा बजारको सबैभन्दा माथिको उचाईमा रहने छ । धार्मिक पर्यटकीय क्षेत्र गौराती भिमेश्वरको मन्दिर नजिकै भ्युटावर सहित बन्न लागको वुद्वपार्कले पर्यटक क्षेत्रको विकास हुने आंकलन गरिएको छ । वुद्वपार्क पुग्न चौतारा दुरसञ्चारबाट दारेगौंडा भिरमा एकहजार सिंडी निर्माणको काम धमाधम भईरहेको नगरपालिकाले जनाएको छ ।
शिल्यान्यास कार्यक्रममा प्रमुअ जिल्ला अधिकारी, सबै सुरक्षाका प्रमुखहरु, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको समेत सहभागी रहेको थियो ।
स्मरण रहोस नगरपालिकाको आफ्नै स्रोत बन्न लागेको सबैभन्दा अग्लो वुद्वपार्क निर्माण सम्भव त स्थानीय तहकै सबैभन्दा ठूलो बजेट हो ।