न्युन प्रतिशत व्याजमा नागरिकलाई ऋण उपलब्ध गराउने लिसंखुपाखर बन्यो पहिलो

कार्तिक १९, लिसंखु (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखुपाखर गाउँपालिकाले आफ्ना नागरिकलाई १ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
न्युन प्रतिशतमा नागरिकलाई ऋृण उपलब्ध गराउने सम्भवत लिसंखुपाखर जिल्लाकै पहिलो देखिएको छ ।
उद्यमशिलता कार्यक्रम मार्फत उद्यम गर्न चाहने गाउँपालिका भित्रका स्थानीयलाई लक्षित गरेर १ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउन लागिएको लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाललले जानकारी दिए । ‘उद्यमशिलता कार्यक्रम मार्फत स्थानीयलाई लक्षित गरेर यो कार्यक्रम ल्याएका हौं’, गाउँपालिका अध्यक्ष नेपालले भने । उनका अनुसार गाउँपालिकाले विनाधितो ऋण अनुदानका लागि प्रक्रिया समेत सुरु गरिसकेको छ । गाउँमै बसेर उद्यम गर्न चाहने स्थानीयलाई लक्षित गरेर गाउँपालिकाले विनाधितो १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन यसअघि नै नेपाल बैंकसंँग सम्झौता गरिसकेको अध्यक्ष नेपालले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले १ प्रतिशत ब्याजदरमा उद्यम गर्न चाहनेहरुका लागि ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम सुरुवात गरेको थियो । नेपाल बैंकसँग दशैअघि नै सम्झौता भएपनि कोरोनाका कारण केही समय कार्यालय बन्द भएपछि अहिले यसका लागि निवेदन माग भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए । गाउँमा नै उद्यम, व्यवसाय गर्न चाहने तर आर्थिक अभावमा समस्यामा परेकालाई लक्षित गरेर कार्यक्रम सुरु गरेको दुलालले बताए । उनका अनुसार पहिलो वर्ष ५ करोड सम्म १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गाउँपालिकाले लक्ष्य रहेको छ । गाउँपालिकाले २८ कात्तिकभित्र वडाको सिफारिससहित आफुले सुरु गर्ने व्यवसायको प्रकृति उल्लेख गरेर निवेदन दिन गाउँपालिका भित्रका स्थानीयलाई आग्रह गरिएको अध्यक्ष नेपालले जानकारी दिए । गाउँपालिकाले कार्यविधि नै बनाएर बिनाधितो १ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएपछि गाउँपालिकाका धेरै स्थानीय यो कर्जा लिन इच्छुक देखिएको अध्यक्ष नेपालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार पहिलो चरणमा १० दिनको म्याद राखेर आवश्यक कागजपत्र मात्रै माग गरिएको र त्यसपछि पेशा व्यवसायलाई वर्गीकरण गरेर अरु प्रक्रिया सुरु गरिने छ । त्यस्तै १० दिन भित्र आएका निवेदनलाई वर्गीकरण गरेर आवश्यक परेमा तालिम समेत सञ्चालन गरेर त्यसपछि मात्रै ऋणका लागि बैंकलाई सिफारिस गरिने छ ।

त्यसैगरी व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत १९ प्रकृतिको व्यवसायका लागि सहुलियत कर्जा गाउँपालिकाले उपलब्ध गराउनेछ । शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा पनि गाउँपालिकाले उपलब्ध गराउनेछ ।
कृषि व्यवसाय उत्पादन, प्रशोधन, भण्डार तथा बिक्री वितरणका लागि पनि यो कर्जा उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तानले बताइन् । उनका अनुसार किसानलाई खाद्यान्न, नगदेबाली, फलफूल, जडीबुटी, सिँचाइ उपकरण, कृषि औजार खरिदका लागि पनि कर्जा उपलब्ध गराइनेछ ।
प्रमुख प्रशासकीय अधिकृत दुलालका अनुसार स्थानीयले लिएको सहुलियत कर्जाको व्याजदरका लागि गाउँपालिकाले नेपाल बैंकमा पहिलो वर्ष १ करोड ५० लाख रुपैयाँ मुद्दती खातामा जम्मा गर्नेछ । उक्त रकमबाट गाउँपालिकाले एक वर्षमा साढे १० लाख रुपैयाँ ब्याज दिनेछ । एक वर्षमा गाउँपालिकाले ५ करोड लगानी गरे करिब १६ लाख ब्याज बैंकलाई बुझाउनुपर्ने छ ।