घुम्थाङ पहिरोः १४ शव फेला १७ अझै बेपत्ता,सबै व्यवस्थापन मिलाएकाे नगरकाे दावी

भदाै ३१, बाह्रविसे (सिन्धुपाल्चोक) । जिल्लाकाे बाह्रबिसे नगरपालिका वडा नं. ७ अन्तर्गत नागपुजे, भिरखर्कमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । त्यस्तै १७ जना अझै वेपत्ता रहेका छन् । उनीहरूकाे खाेजीकार्यमा सुरक्षाकर्मीहरु रातदिन खटिरहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकाेटाले जानकारी दिए ।
भाद्र २८ गते बिहान गएको पहिरोबाट २७ घर पूर्ण रूपमा क्षति भएकाे थियाे भने ८१ घरधुरी तत्कालका लागि अन्यत्र स्थान्तरण गर्नुपर्ने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पाले सिन्धुज्वालालाइ बताए ।
यसैबीत घुम्थाङ पहिरोबाट प्रभावित परिवारका लागि बाह्रबिसे नगरपालिकाले १ सय ८७ घरपरिवारलाई टेन्ट प्रयाेग गरेर अस्थायी बसाेबासकाे व्यवस्था मिलाएकाे जनाएकाे छ । ६५ घरधुरीलाई ४५ थान टेन्ट हालिएकाे मेयर शेर्पाले जानकारी दिए । उनका अनुसार पहिराेबाट बिस्थापित परवार नागपुजेमा ९३, भिरखर्कमा ५०, अास्वचेमा १९, कामीटाेलमा ११ र टङसारमा १४ परिवार रहेका छन् । विस्थापित तथा पीडित परिवारलाई अन्यन्त्रबाट सहयोग अाउने क्रम चलेकाे उनले बताए । काेराेना संक्रमित हुने सम्भावना भएपछि बाहिरकाट अाउने सहयाेगलाई एकद्वार प्रणाली मार्फत नगरपालिकाले नै उपलब्ध गराउने उनले बताए । उनका अनुसार पीडितकाे लागि बाहिरबाट अाउने सहयाेग नगरपालिकालाई नै बुझाउने छ । त्यसपछि मात्रै नगरपालिकाले पीडितहरूलाई उपलब्ध गराउने छ । पहिराेबाट मृत्यु भएकाहरूलाई नगरपालिकाले प्रति मृतक परिवार एकलाख दिईने निर्णय गरिसकिएकाे मेयर शेर्पाले बताए ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलको नेतृत्वमा गएका टोलीले अस्थायी आवासका लागि त्रिपाल, कम्बल, भाडासेट, लत्ताकपडा लगायत सहयोग गरेका छन् । पीडितहरूकाे तत्काल निर्वाहका लागि १९ परिवारलाई प्रति परिवार २ हजार नगद सहयोग गर्नुका साथै सामुहिक अस्थायी शौचालय र खानेपानीको सहजका लागि पाईप, बाल्टिन लगायत सामाग्री पु¥याएकाे नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुपाल्चोकले जनाएकाे छ ।