गाउँपालिकाका अध्यक्ष पौडेलको यस्तो छ दिनचर्या, सर्वसाधारणलाई राहत बाँड्न भ्याईनभ्याई

भदौ २७, काठमाडौं । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको दिनचर्या आजकाल काठमाडौंमा बित्ने गरेको छ । काठमाडौंमा घर भएपनि पौडेल घरमा बसेका भने होईनन् । प्राय बिहान देखि बेलुका सम्म उनी सर्वसाधारणकै सेवामा तल्लिन हुन्छन् । बाढीपहिरोले उनको भोटेकोशी गाउँपालिकामा अहिले पनि त्राहीमाम छ । गाउँपालिका भित्रका सर्वसाधारणहरुको समस्या उस्तै छन् । तर ती स्थानीयको समस्याहरुलाई समेत सम्बोधन गरेर पौडेल समय बचत गर्दै काठमाडौंको गल्लि गल्लिमा रोग, भोग र शोकमा परेका सर्वसाधारणको सेवामा हाजिर हुन्छन् । उनी बिहान उठे देखि कहिले पशुपति क्षेत्रमा पुग्छन् त कहिले बनकाली, गुहेश्वरी र सुकुम्बासी बस्तीहरुमा हुन्छन् ।

आफ्नो व्यक्तिगत खर्च गरेर उनले अपाङ्ग–अशक्त, पेट पाल्नै मुश्किल परेका सर्वसाधारणलाई खाद्यन्न लगाएत सामग्री वितरण गरिरहेका छन् । गल्लि दोबाटोमा रहेका बेसाहाराहरुलाई खाना खुँवाउदै हिडेका छन् । यो अभियान उनले एकमहिनाको लागि थालेका थिए । अझै नितरनतरता दिने सोचमा छन् उनी । आफुले व्यक्तिगत खर्च गरेर विपन्न नागरिकहरुको सेवा गरेको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

‘यो माहामारीको समयमा कोही पनि भोकभोकै नमरुन भनेर व्यक्तिगत रुपमै यो अभियान थालेको हुँ’, पौडेलले भने । काठमाडौंका विभिन्न ठाउँका दैनिक २ सय जनालाई खाना खुवाईएको उनले बताए । खानालाई अन्न नै नभएका सुकुम्बासीलाई समेत खाद्यन्न उपलब्ध गराईएको उनले बताए । आफ्नो गाउँपालिका भोटेकोशीमा बाढीपहिरोले विस्थापित भएकालाई अन्य क्षेत्रबाट समेत सहयोग गरेजस्तै काठमाडौं उपत्यका सर्वसाधारणलाई आफुले सहयोग गरेको उनले बताए । मजदुरहरु काम नपाएर सडकमै भोकभाोकै मर्ने अवस्था देखेपछि आफुले सहयोग गरेको उनको तर्क छ । ‘मेरो गाउँ त्यसै रोईरहेको छ, गाउँका मानिसलाई त मलम लगाउने काम गरेको छु, यहाँका सर्वसाधारणलाई नगर्ने कुरै भएन’, पौडेलले भने । खान नपाउनेलाई एकछाक खाना मात्रै भएपनि खुवाउन पाउनु मानवताको धर्म भएको उनको भनाई छ । आफुले केही सहयोगी साथीहरुबाट ४० हजार प्राप्त भएको र बाँकी आफ्नो व्यक्तिगत खर्च भएको उनले बताए ।
खाद्यन्न नभएर खाना नपाउने अवस्थामा खाद्यन्न राहत पाउँदा आफुहरु निकै खुशी भएको जडिबुटी सुकुम्बासी बस्तीका एक स्थानीयले बताए । उनीहरुले सहयोग गर्ने पालिका अध्यक्ष पौडेललाई धन्यवाद समेत दिए ।