सिंढी निर्माणमा उपयोग गरिदै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम

चौतारा (सिन्धुपाल्चोक) । गत बर्षहरुमा ग्रामिण सडकहरुमा नाली बनाएर सकिने रकमलाई यसपटक भने स्थानीय तहहरुले सदुपयोग गरेका छन् ।
वडा तहसम्म वर्षेनी पाँचलाख आउने बजेटलाई स्थानीय सरकारहरुले दिगो विकासको रुपमा खर्च गरेका हुन ।

आफ्नो वडामा आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई जनताकै सुविधाको लागि सिंढी निर्माण गरिएको ५ नम्बर वडाका वडाअध्यक्ष नरमान श्रेष्ठले सिन्धुज्वालालाई बताए । ’हामीले यसपटक जनताको सुविधाका लागि गोरेटो बाटोमा सिँढी निर्माण गरेका छौं‘, वडा अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार उक्त वडाको भिमसेनथान देखि कामीहिटी सम्म करिब दुईसय मिटर पक्की सिँढी सहितको गोरेटो बाटो निर्माण हुनेछ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत आएको पाँचलाख रकमलाई ७० प्रतिशत स्थानीयलाई ज्याला मजदुरको रुपमा लगाईने र ३० प्रतिशत निर्माण सामग्री खरिद गरिने उनले बताए ।
दुईदर्जन ज्यामीद्वारा गत बुधबारबाट निर्माण सुरुवात गरिएको उक्त सिँढी निर्माण आगमी दुईसाता भित्र निर्माण सकिने उनले बताए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई अनुत्पादक काममा खर्च गरेर सक्नु भन्दा दिगो र जनताको उपयोगी काममा खर्च गर्नु उपयुक्त हुने वडाअध्यक्ष श्रेष्ठको तर्क छ । सो सिँढी निर्माण भएपछि सयौं चौताराका स्थानीय लाभान्दित हुने उनले बताए ।