सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिद्वारा एक बर्षको प्रगति सार्वजनिक

११ मंसिर, चौतारा । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको प्रगति सार्वजनिक गरेका छन् ।

गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा तथा सोही क्षेत्र (ख) का प्रदेशसभा निर्वाचित सरल सहयात्री पौडेल, प्रतिनिधि सभा २ (क) का प्रदेश सभामा निर्वाचित युवराज दुलाल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले आफ्ना एक बर्षमा प्रगतिहरुको जिल्लाका सञ्चारकर्मी माझ सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार माहासंघ सिन्धुशाखा हलमा गरिएको प्रत्रकार भेटघाट कार्यक्रममा संघीय सांसद सापकोटाले निर्वाचन क्षेत्रका विषयमा २०७२ को भूकम्पपछि बन्द जस्तै रहेको प्रमुख व्यापारिक तातोपानी नाका पूर्ववत सुचारु गर्ने विषय, जुरे पहिरो प्रभावितको रकम निकासा गरी नगदै वितरणको विषय, ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय, सिमा नाका सम्म पुग्ने तातोपानी क्षेत्रको सडक स्तरोन्नतिको विषय, बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरबाट बालीनाली जोगाउने उपायबारे संसदमा सरकारको ध्यानाकर्षण गराएको, काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडिबुटीबाटै बसपार्क व्यवस्थाका लागि ध्यानाकर्षण गराएको, विपद पूर्वतयारी एवं विपद व्यवस्थापनका विषय सदनमा उठाएको उनले जानकारी दिए ।

राष्ट्रिय मुद्दाका रुपमा संसदमा चीनसँगको तातोपानी नाका पूर्ववत सुचारु गर्ने, लिपिङ क्षेत्रको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको, नेपालका युवाहरुले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरु रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता, नेपाल वृद्धाहरुको देश बन्ने खतरा रहेको तथ्यांक सहित संसदमा युवाहरुको विषयको उठान गरेको, नियमावलीमा ढ्यापढ्यापेको समयको सट्टा आकस्मिक समयका लागि नियमावली संसोधन गर्न पहल गरेको र नियमावलीमा सोही अनुसारको व्यवस्था सहित संशोेधन भएको उनले बताए ।

आधुनिक प्रविधि र एपमार्फत संसद संचालन गर्न ध्यानाकर्षण एवं एक महिनाको तलब सहयोग गर्ने प्रतिवद्धता वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गर्न विशेष ध्यानाकर्षण, संक्रमणकालीन विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेको, सबैखाले विपदको पूर्व तयारीका सम्बन्धमा ध्यानाकर्षण गराएको, भुटानी शरणार्थीको मुद्दालाई स्वार्थमा जोडेर राजनीति नगर्न आग्रह गरिएको देशका संबैधानिक अंग र निकायहरु रिटायर्ड क्लबहरुजस्ता भएको विषयमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको सापकोटाले पत्रकार भेटघाटमा स्मरण गरे ।

जुगल गाउँपालिकाको रत्नराज्यमाविलाई केन्द्रीय विद्यालय बनाउन पहल गरिएको, रुग्ण उद्योगका रुपमा रहेको ओरेयन्ट म्याग्नेसाइटबारे विभिन्न विकल्पमा छलफल भइरहेको सापकोटाले जानकारी दिए । निर्वाचति भएको १५ दिन मै गुम्बा गाउँमा बत्ति बाल्न पहल लिएको सुनाउँदै सांसद सापकोटाले ७ महिना भित्रमा तेम्बाथानमा बत्ति बाली छाड्ने लावी गरे । गुम्बाको नेसम खोलामम्म मोटरबाटो पुगेको र अर्को बर्षबाट तेम्बाथानसम्म मोटर चढेर जान सकिने गरी काम भइरहेको समेत उनले जानकारी दिए ।

उनले जुगल गाउँपालिकामा सम्भाव्यताको आधारमा जडिबुटी प्रशोधन केन्द्रको स्थापनाको काम अगाडि बढाइएको जुगल हिमश्रृङखला अन्तर्गतका थप हिमालका चुचुराहरु आरोणका लागि खुला गर्न नेतृत्वदायी भूमिका खेलेको र सुकुटेलाई पर्यटकीय विकासका लागि चौतारासाँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको जानकारी दिए । उनले सांसदका रुपमा विभिन्न अमेरिका, भारत र बंगलादेशमा भएका भ्रमण एवं नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गरेको विषयमा बताएका थिए । आफू निर्वाचन क्षेत्रका ५४ वटै वडाहरुमा कुनै न कुनै कार्यक्रम लिएर पुगेको उनले जानकारी दिए । जनतासँग सांसद कार्यक्रमको बाह्रविसेको घोरथलीबाट सुरु गरिएको उनले कार्यक्रममा बताए ।

त्यस्तै एक बर्षको उपलब्धी सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रदेशसभा सदस्य दुलालले जनसेवाको काम गर्ने, जनताको दुख सुखमा जनप्रतिनिधि, सरकारबाट नीति निर्माणको काममा ध्यान दिइएको बताए । ठूला योजना दिनेश राम्जी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न, चौतारा टुंडिखेलमा निर्माणाधिन रंगशालाको रोकिएको कार्य सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको सुनाए । उनले निर्वाचन क्षेत्रका मुख्य योजना, मझौला योजनाहरुमा बजेट विनियोजन भई काम भइरहेको जानकारी दिए । निर्वाचन क्षेत्रका २४ वटै वटा समेटिने गरी पूर्वाधार विकास, विद्यालय बस जस्ता कार्य अघि बढाइएको उनले सुनाए । प्रदेशको बजेट कटौतिका बाबजुट प्रेदशका कार्यक्रमहरु एकिकृत ढंगले अघि बढाउन लागिएको उनको भनाइ छ । प्रदेश सभाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपामा पारित गरिएको विषय समेत यस अवधिको उपलब्धि रहेको दुलालले जानकारी दिए । १५ बेडको चौतारा अस्पताललाई ५० बेडको बनाउने लगायतका महत्वपूर्ण कार्य भएको, बागमती प्रदेशमा विद्युतीय ट्याक्सि सञ्चालनको अनुमति प्रदान गरिएको काम समेत उनले सार्वजनिक गरे ।

त्यसैगरी प्रदेशसभा सदस्य पौडेलले चुनावमा आफूलाई जिताउने मतदाता, उमेदवार बनाउने पार्टीलाई धन्यवाद ज्ञापन गर्दै सहित, घाइेत, अपांगता भएका र बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै काम गरिरहेको सुनाए । बागमती प्रेदश सभामा विपद व्यवस्थाको विषयमा विशेष समय लिएर सम्बोधन गरेको, रासायनिक मल अभावका कारण किसानले भोग्नु परेको समस्यामा ध्यानाकर्षण गराएकोमा दुबै विषयको समबोधन भएको सुनाए । उनले मुख्यमन्त्रीको उपस्थितिमा सिन्धुपाल्चोकमा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको र एक प्रदेश निर्वाचन क्षेत्र एक प्रांगारिक मल उत्पादन केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको बताए । माओवादीले भ्रष्टाचार गर्नु भनेको सहिको मासु लुछेर खानु सरह भएको विषय संसदमा सम्बोधन गरेको सांसद सहयात्रीले स्मरण गरे । उनले चुनावी अभियानका बिचमा गरिएका प्रतिवद्धता पूरा गर्न लागिपरेको स्पष्ट गरे । पत्रकार सम्मेलनमा उनले आगामी बर्षहरुमा बाँकी प्रतिवद्धता पुरा गरिने बाचा समेत गरेका थिए ।

त्यस्तै समानुपातिक सांसद नेपालले बागमती प्रदेश सभामा सम्बन्धीत समितिमा र निर्वाचन क्षेत्रमा आफूले खेलेको भूमिकाको बारेमा चर्चा गरिन् । उनले गृहिणी महिलाहरुको श्रमको सम्मान, श्रमको मूल्य निर्धारण आयआर्जन र सीपसंग जोड्नुपर्ने विषय उठाएको स्मरण गर्दै सो विषय कार्यान्वयन गर्न गृहिणी महिलासँग प्रदेश सरकार कार्यक्रम पारित भइ कार्यन्वयनको चरणमा रहेको बताइन् । उनले संसदमा युवाका विषयलाई जोड दिइएको र काम गरिखाने बर्गका विषयमा आवाज उठाइरहने जानकारी गराइन् ।

चारैजना जनप्रतिनिधिले यो अवधिमा पार्टी संबद्ध कार्यहरुमा सहभागी भएको विषयमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा चौतारा साँगाचोगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा लगाएत जनप्रतिनिधि, सो पार्टीका स्थानीय पार्टी कार्यकर्ता र जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

स्मरण रहोस जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुले त्यस खालको कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले निर्वाचनका बेला जारी गरिएको प्रतिवद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरेका थिए ।