भोटेकोशी गाउँपालिकाद्वारा महिला पत्रकारिता तालिम सुरु

२४ माघ, तातोपानी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिकाले युवा महिलाहरुलाई लक्षित गरि ७ दिने पत्रकारिता तालिम सुरुवात गरेको छ । ’सक्षम पत्रकार उत्पादन तथा पत्रकारितामा फरक धारको अभ्यास‘ स्लोगन सहित महिलाहरुको क्षमता अविवृद्वि गर्ने उद्देश्यले हिजोबाट तातोपानीमा तालिमको सुरुवात गरिएको हो ।

५० जना महिला सहभागिता तालिमको उद्घाटन् भोटेकोशी गाउँपालिकाकी उापध्यक्ष दावुटी शेर्पाले गरेकी हुन् । तालिम उद्घाटन पछिको मन्तव्य राख्दै उपाध्यक्ष शेर्पाले पछाडी परेका महिलाहरुलाई फरक क्षमताको विकास गराउने हिसाबले सो किसिमको तालिमको आयोजना गरिएको बताईन । ’महिलाहरुमा पनि पत्रकारिताको माध्यमबाट क्षमताको विकास गर्नपर्छ भनेर यो तालिमको सुरुवात गरेका हौं‘, उपाध्यक्ष शेर्पाले भनिन् । गाउँपालिकाद्वारा महिलाहरुको क्षमता अविवृद्वि तथा सशक्तिकरण गर्ने शिर्षकबाट छुट्याईएको बजेटबाट तालिमको आयोजना गरिएको उनले बताईन । उनका अनुसार पत्रकारिता तालिमको लागि बजेट ३ लाख रहेको छ । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौलाले पालिकाको योजना विकास योजनामा लगानी गरिए जस्तै फरक प्रतिभा र फरक क्षमताको विकास गर्न समेत लगानी गरिएको बताए ।

तालिमका प्रमुख प्रशिक्षक पाटन क्याम्पसका प्राध्यापक डा. विजय मिश्रले विज्ञान र प्रविधिको विकास संगै व्यक्तिका क्षमताको विकास पनि गर्नु पर्ने धारणा राखे । ७ दिने प्रशिक्षणबाट महिलाहरुले प्राप्त गर्ने ज्ञान, सीप र क्षमतालाई गाउँपालिकाले पूँजिको रुपमा विकास गर्नुपर्ने तर्क पेश गरे ।
तालिम तथा प्रशिक्षण कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । तालिममा स्थानीय होटल व्यवसायीले समेत सहयोग रहेको छ । जम्मा पाँच वडा रहेको भोटेकोशीमा पत्रकारिता तालिममा सबै वडा बाट सहभागिता रहेका थिए । कार्यक्रम तातोपानीको सोनाम लजमा गरिको हो ।