चैत्र १५ गते ‘मेलम्ची’ महोत्स हुने

२३ माघ, मेलम्ची (सिन्धुपाल्चोक) । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मेलम्चीमा ’मेलम्ची‘ महोत्सव हुने भएको छ । मेलम्ची क्षेत्रलाई चिनाउने गरी मेलम्ची नगरपालिकाको सहजीकरणमा हुने महोत्सव चैत्र १५ गते गरिने भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय सहजीकरण तथा आयोजक समितिको आजको बैठकले सो निर्णय गरेको हो । ‘पर्यटकीय क्षेत्र ’मेलम्ची’ लाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमै चिनाउने हिसाबले नगरपालिकाकै पहलमा ‘मेलम्ची’ महोत्सव गर्न लागेका हौं’, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले सिन्धुज्वालासंग भने । महोत्सवको मिति तय भएपनि प्रमुख अतिथि भने को ल्याउने भन्ने सन्दर्भमा निर्णय भईनसकेको नगरप्रमुख अर्यालले बताए ।

मंगलबार बसेको बैठकले महोत्सव आयोजनाका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष जगन्नाथ चालिसेको संयोजकत्वमा १३ सदस्यीय महोत्सव आयोजक समिति गठन गरेको छ । सो समितिको सचिवमा विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा र कोषाध्यक्षमा पर्यटन विकास समिति सदस्य उमा प्रधान रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती, कार्यपालिका सदस्य पार्वती विक, वडा सदस्य अम्बिका बस्नेत, वडा सदस्य तथा कलाकार भीमसेन खतिवडा, संघसंस्था प्रतिनिधि शिवराम भट्टराई रहेका छन् । यस्तै निर्माण व्यवसायी महासंघ सिन्धुपाल्चोकका प्रथम उपाध्यक्ष फडिन्द्र दाहाल, होटल व्यवसायी जनकलाल श्रेष्ठ, नगर महिला सञ्जालका अध्यक्ष मुना ढकाल, पर्यटन व्यवसायी जीरा लामा र रविन्द्र अर्याल सदस्य रहरेका छन् ।

‘मेलम्ची महोत्सव’ मा विभिन्न जातजातीका सांस्कृतिक झाँकी, लोकदोहोरी प्रतियोगिता, स्थानीय परिकारका खाद्य स्टल तथा कृषि उपज प्रदर्शनी रहने छ । कार्यक्रमको वृस्तृत जानकारी भने केही दिनमै गरिने पत्रकार सम्मेलनबाट गरिने आयोजकको भनाई छ ।
उपप्रमुख भगवती नेपालको अध्यक्षतामा गठित महोत्सव पूर्वतयारी समितिको प्रतिवेदन पेश गरी त्यसउपर छलफल भई महोत्सव आयोजना गर्ने टुंगोमा पुगिएको पूर्वतयारी समितिका संयोजक तथा सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका उपाध्यक्ष रामकृष्ण चालिसेले जानकारी दिए ।