शनिबार प्रचण्ड चौतारामा आउने


पुष १७, चौतारा (सिन्धुपालच्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड‘ शनिबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा आउने भएका छन् ।
श्रीकृष्णरत्नगंगा माध्यामिक विद्यालयको ७३ औं वार्षिक उत्सव कार्यक्रम तथा नव निर्मित भवन उद्घाटन गर्न प्रचण्ड चौतारा आउने भएका हुन् ।
२०७२ को विनाशकारी भूकम्पमा पूर्ण रुपमा ध्वस्त भएको भवनको पुनर्निर्माण सकिएसंगै नवनिर्मित भवन उद्घाटन, हस्तान्तरण तथा विद्यालयको ७३ औं वार्षिक उत्सव कार्यक्रम एकैदिन राखेर प्रमुख अतिथिको रुपमा प्रचण्डलाई बोलाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सिन्धुज्वालालाई बताए । ’जिल्लाकै जेठो विद्यालयको भवन उद्घाटन तथा वार्षिक उत्सव कार्यक्रमलाई भव्य र सानदार रुपमा मनाउन प्रमुख अतिथिको रुपमा प्रचण्डलाई निम्तो गरेका हौं‘, विव्यस अध्यक्ष श्रेष्ठले भने ।

उनका अनुसार विद्यालयको ७३ औं वार्षिक उत्सवकै अवसरमा नवनिर्मित भवनको उद्घाटन संगै विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
एशियाली विकास बैंक (एडिबी) को करिब साँढे १० करोडमा लागतमा २०७४ पुषमा सुरुवात गरिएको उक्त भवन २०७५ पुषमा सकिन पर्नेमा २०७६ पुष सम्म लागेको थियो । विशाल एण्ड विराट जेवी निर्माण कम्पनीले ठेक्का पाएको उक्त भवन ५० कोठाको रहेको छ । जसमा होस्टेल दुईतले तथा बाथरुम र शौचालय सहितको तीन तलाको ३ वटा भवन रहेका छन् ।
अत्याधुनिक भवन संगै विद्यालयलाई चाहिने ल्याब, उपकरण तथा आधुनिक पढाई सञ्चालनका लागि सामग्रीहरु जुटाउन प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई आग्रह गरिने उनले बताए ।
स्मरण रहोस भूकम्पपछि विद्यालय भवन पूर्ण रुपमा ध्वस्त भएपछि पढाई सुचारु राख्न अस्थाई संरचाना (टिएलसी) निमार्णको लागि श्रीकृष्ण रत्नगंगामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा जनजागृति माविमा प्रचण्ड आफैं निर्माणमा खटिएका थिए ।
2076 poush 18