४७ वर्षदेखिको सपना पुरा हुँदै ठोकर्पामा, सभामुखद्वारा वन अध्ययन केन्द्र भवनको शिलान्यास

कार्तिक २९, ठोकर्पा (सिन्धुपाल्चोक) । सामुदायिक बनको पहिलो वन उदगमस्थल सिन्धुपाल्चोकको ठोकमर्पामा सामुदायिक वन अध्यनकेन्द्र भवन बन्ने भएको छ ।
विश्वकै पहिलो अवधारणाको रुपमा रहेको ठोकर्पाको ४७ वर्षदेखिको सपना पुरा हुने भएको छ । पहिलो वन अभियान्ता स्वर्गीय निलप्रसाद भण्डारीद्वारा वि.स २०३० सालमा वृक्षारोपण गरी सुरुवात भएको थियो । स्व. भण्डारीको सक्रियतामा १६ कोष टाढाबाट गाउँलेहरुले डोकोमा विरुवा बोकेर नाङगो पाखामा वृक्षारोपण गरी सामुदायिक वनको रुपमा स्थापित भएको थियो । सोही ठाउँमा हिजो सामुदायिक वनको अध्यानकेन्द्र भवनको शिल्यान्यास सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । सुनकोसी गाउँपालिका–१ ठोकर्पामा निर्माण गरिने सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यास पछिको कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख सापकमोटाले नेपालको वनलाई समुदायबाट संरक्षण गरेर मात्र नपुग्ने हुँदा यसलाई अब उद्योगकै रुपमा अघि बढाउनुपर्ने धारणा राखे । अब निर्माण गरिने वन अध्ययन केन्द्रलाई आवश्यक परेमा अन्तराष्ट्रिय सहयोगको लागि पहल गरी कामलाई पूर्णता दिने समेत प्रतिवद्वता जनाए ।

तस्बिरः श्रीधर न्यौपाने

सभामुख सापकोटाले सोही कार्यक्रममा वन अभियान्ता स्वर्गीय भण्डारी र तत्कालीन चौतारा वन डिभिजनका अधिकृत डा. तेज बहादुर सिंह महतलाई अभियन्ताको रुपमा सम्मान गरे । नेपाल सरकारले २०७३ साउन २५ गतेदेखि प्रत्येक बर्ष सामुदायिक वन राष्ट्रिय महोत्सवको रुपमा मनाउने निर्णय गरी स्व.भण्डारी र महतलाई सम्मान गर्ने निर्णय गरेको थियो । सामुदासयक अध्यायनकेन्द्र निर्माणको लागि रु ३९ करोड ७० लाख बजेट लगानी हुने गरी विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । संरचना निर्माणको लागि प्रत्येक बर्ष बजेट बिनियोजन हुँदै आएको र चालु आर्थिक बर्षमा एक करोड ८८ लाख ७७ हजार पाँच सय निकासा भएको छ ।

दुई हेक्टर जमिनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास, कर्मचारी आवासगृह, तालिम भवन, भण्डार गृह तथा पार्किङ स्थल सहित १५ वटा भवन निर्माण गरिनेछ । उक्त केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका अध्ययनकर्ता, विश्वविद्यालय तथा महाविद्यालयका विद्यार्थी, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुने जनाईएको छ ।