कृषि र पर्यटनमा क्रान्ति ल्याउँदै लिसंखुपाखर

दिनेश दुलाल
पुष ९, अत्तरपुर (सिन्धुपाल्चोक) । गाउँसभाद्वारा नीतिगत रुपमै ’गाउँ समृद्विको आधार कृषि र पर्यटन‘ भन्ने नारा तय गरेको लिसंखुपाखरले कृषि र पर्यटनलाई जोड दिने भएको छ ।
पालिकाको स्रोतको रुपमा नदिनाला तथा अन्य उद्योग कलकारखाना नभएको लिसंखुपाखरले कृषि र पर्यटनलाई नै केन्द्रविन्दु बनाएर चमत्कारीपूर्ण ढंगले विकास गर्ने भएको हो । ’हामीकाहाँ जलविद्युत, कलकारखाना तथा अन्य उद्योगधन्दाहरु सञ्चालनका सम्भावनाहरु छैनन् त्यसकारण कृषि र पर्यटनलाई जोड दिएका हौं‘, गाउँपालिका अध्यक्ष कमल नेपालले सिन्धुज्वालालाई बताए ।

कृषि र पर्यटनलाई नै केन्द्रविन्दु बनाएर मानव निर्मित ताल देखि लिएर कृषि उपजमा गुणोत्तर उत्तपादन गरेर गाउँपालिकालाई नै आत्मनिर्भर बनाउन लागिएको पालिका अध्यक्ष नेपाले जानकारी दिए ।
जिल्लाकै सबैभन्दा ठूलो लगानीमा ताल
लिसंखुपाखर गाउँपालिकाले जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित ताल निर्माण गर्ने भएको छ । ३ वर्षभित्र सक्ने गरी १२ करोड लगानीमा उक्त ताल निर्माण हुन लागेको हो । पालिकाको वडा नम्बर २ अन्र्तगत रहेको ग्याल्बो खोलाको पानी जमाएर निर्माण गर्न लागिएको बिशाल तालको नामकरण पनि ग्याल्बो खोला ताल राखिएको छ । पालिकाले पर्यटन र कृषिलाई एउटै आयोजनाले समेट्नेगरी सुरुवात गर्न लागिएको उक्त ताल बोटिङ र माछा पालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । उनका अनुसार पालिकाको सबैभन्दा माथिल्लो भेगमा रहेको उक्त तालको क्षेत्रफल एकसय रोपनी भन्दा माथि हुनेछ । जग्गा भने स्थानीयले निशुल्क रुपमा गाउँपालिकालाई प्रदान गरिने समझदारी भईसकेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । तालको लागि आवश्यक पर्ने जग्गा स्थानीयबाट पालिकाको नाममा हस्तान्तरण भईसकेपछि सञ्चालन तथा व्यवस्थापनमा विशेष ऐन बनाएर जग्गा दाताहरुको हित संरक्षणमा जोड दिने उनले बताए । ’गाउँपालिकाले जग्गा दाता लक्षित गरेर आर्थिक र सामाजिक सहितको योजना सञ्चालन कार्यविधि समेत बनाउँछ‘, प्रमुख प्रशासकीय अधिकृत दुलालले भने ।

किसानलाई १ प्रतिशत व्याजदरमा ऋृण
लिसंखुपाखर गाउँपालिकाले कृषि, फलफूल र पशुपालन क्षेत्रमा लगानी गर्न किसानलाई १ प्रतिशत व्याजमा ऋृण उपलब्ध गराउने भएको छ ।
प्रति किसान १ देखि ५ लाख सम्म ऋण उपलब्ध गराउने योजना बनाएको पालिकासंग स्रोत यस आर्थिक वर्षका लागि ६० लाख छुट्याएको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । उनका अनुसार स्थानीय सहकारीलाई गाउँपालिकाले आर्थिक प्रदान गर्नेछ । गाउँपालिकाले ऋृण पाउने व्यक्ति छनौट सिफारिस गरेपछि मात्रै किसानले १ प्रतिशतमा ऋृण पाउने छन् । ऋणी किसानले किस्तामा ऋृण तिर्ने व्यवस्था सहकारी मार्फत गराईने उनले बताए ।

हिलस्टेशन, भ्यूटावर र कोशेली घर
लिसंखुपाखर गाउँपालिकाले पर्यटकीय क्षेत्र मुडे एरियामा हिलस्टेशन, भ्यूटावर र कोशेली घर निर्माण गर्ने भएको छ । केही प्रदेश र केही पालिकाको बजेटमा भ्यूटावरको निर्माण प्रक्रिया थालिएको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । उक्त तीनवटा पर्यटकीय संरचनाले पर्यटकलाई आकर्षण गर्दै पालिकाको आर्थिक स्रोत वृद्वि हुने लक्ष्य लिएको उनले बताए ।
यसैगरी प्रदेश सरकारको सहयोगमा पाखरमा जिल्लाकै पहिलो कोल्डस्टोर निर्माण हुनेभएको छ । त्यस्तै गाउँपालिकाकै अनुमानित दुईकरोड लगानीमा काष्ठ सिजिनिङ्ग स–मिल्स र प्रदेश स्तरीय बन्यजन्तु संरक्षण क्षेत्र समेत लिसंखुपाखरमा बन्ने प्रमुख पशासकीय अधिकृत दुलालले जानकारी दिए ।
स्मरण रहोस उक्त पालिका आफ्नै नाममा भवन बनाउने जिल्लाकै पहिलो गाउँपालिका भएको छ ।