
जिल्लाकै पकेट क्षेत्र मानिएको अत्तरपुरमा लोप हुँदै अलैंची

मंसिर २४÷अत्तरपुर (सिन्धुपाल्चोक), लिसंखुपाखर गाउँपालिका वडा नम्बर ४ का शशिनाथ शाक्य अलैंची व्यवसाय गर्ने कृषक हुन् । करिब १५ वर्ष अघिदेखि अलैंची व्यवसाय गरेका शाक्यले वार्षिक ५ लाख आम्दानी गर्थे । तर उनको व्यवसाय भूकम्प पछि अलैंचीमा सिंधुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो ।
अलैंचीको बेर्ना उत्पादन तथा अलैंची भट्टी राखेर अलैंची बिक्री गरेर लाखौं आम्दानी गर्ने शाक्य अहिले न अलैंची बेर्ना उत्पादन गर्छन न तयारी अलैंची बिक्री नै गर्छन र सिन्धुपाल्चोकका अलैंची किसानहरुलाई यो व्यवसाय सिकाएका शाक्यले जिल्लाभरी नै अलैंची विरुवा वितरण गर्दथे । तर अहिले यो व्यवसाय चटक्कै छोडेका छन् उनले । अलैंचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैंले नष्ट गर्नृपर्ने भनेपछि समुदायले आफैंले नष्ट नगरेको उनले बताए । उनका अनुुसार अलैंचीमा लाग्ने सिंधुरो रोग एकठाउँमा नष्ट गरेपनि वरीपरी सबै ठाउँमा नष्ट नगरे सम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैंची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले बरु पेशा नै छाडेको शाक्य बताउँछन् । शाक्य जस्तै अत्तरपुरका प्राय किसानले अलैंची लगाउन छाडेका छन् । केही किसानले किबी व्यवसाय थालेको शाक्य बताउँछन् । किबी खेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भएपनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।
पछिल्लोपटक किवी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तिमा ५ हजार खर्च गर्नुपर्छ । ३ वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट बार्षिक ७० किलो सम्म उत्पादन हुने शाक्य बताउँछन् । उनका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो ३ सय देखी ५ सय सम्म बिक्री हुने गरेको छ । केही वर्षअघि अलैंचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबी खेतीमा बदलिएको छ । गाउँपालिकाकै अलैंची पकेट क्षेत्र बनाउने योजना रहेपनि अलैंचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सिन्धुज्वालालाई बताए । पालिकाकै सबैभन्दा ठूलो सिंचाई पोखरी बनाएपछि तरकारी, फलफूल तथा अन्य नगदेबाली कसरी लगाउन सकिन्छ भनेर योजना बनाएको उनी बताउँछन् ।