जनताको विश्वासले चुनावी मैदानमा उत्रेको छु

राले तामाङ ‘अशोक’
(वडा अध्यक्ष उम्मेदवार नेका) ईन्द्रावती गाउँपालिका वडा नं ८, सिन्धुपाल्चोक
आगमी मंसिर १४ गते देशैभरी उपनिर्वाचन हुँदैछ । सोही निर्वाचन सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका अन्र्तगत वडा नम्बर ८ मा समेत उपनिर्वाचन हुँदैछ । उक्त वडामा वडाअध्यक्षको लागि नेकपाको तर्फबाट केदारनाथ आचार्य र नेपाली कांग्रेसको तर्फबाट राले तामाङ चुनावी मैदानमा उत्रिएका छन् । कडा प्रतिश्पर्धाका बीचमा होमिएका दुई उम्मेदवार मध्ये नेपाली कांग्रेसका उम्मेदवार राले तामाङ ‘अशोक’ संग चुनावका तयारीका सम्बन्धमा सिन्धुज्वाला डटकम अनलाईनले लिएको कुराकानीको सम्पादित अंश–सम्पादक

मंसिर १४ गते हुने उपनिर्वाचनमा ईन्द्रावती गाउँपालिका अन्र्तगत वडा नं ८ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ कतिको चुनाव लागेको छ त ?

हामीले उम्मेदवारी मनोनयन दर्ता गरेपछि चुनावी प्रचार प्रसारको लागि व्यापक रुपमा लागेका छौं । यसबीचमा हामीले मतदाता भेटघाट, घरदैलो कार्यक्रम लगाएत अभियानलाई तिव्रता दिएका छौं ।

गत साल यो वडाको वडाअध्यक्षमा यहाँकै पार्टी नेपाली कांग्रेसको उम्मेदवारले जित्नु भएको हो । उहाँ वित्नु भएपछि पुनः भएको उपनिर्वाचनमा यहाँ सोही पार्टीको उम्मेदवार हुनुहुन्छ त्यतिबेला र अहिलेमा के भिन्नता पाउनु भएको छ ?

यहाँले भने जस्तै ईन्द्रावती ८ नेपाली कांग्रेसले नै विजय हाँसिल गरेको स्थान हो । वस्तुगत स्थितिलाई हेर्दाखेरी जुन वामगठबन्धन बनेको छ । जसले मेरो लागी चुनौतिको विषय बनेको छ । तर पनि मैले हाम्रो पार्टीको एजेण्डालाई लिएर लिएर हिडेको छु । यसरी चुनावी अभियानमा लागीरहँदा खेरी जनताको माहोल बढेको देख्दा पक्कै जित्छु भन्ने आशा चाँहि छ ।

यहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ कस्तो एजेण्डा लिएर जनतामा जाँदै हुनुहुन्छ ?

हाम्रो पार्टीको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगरीका अवसरहरु जनतालाई प्रदान गर्ने एजेण्डा त छँदैछ । त्यसमाथि ईन्द्रावती गाउँपालिका अन्र्तगत वडा नम्बर ८ का सबै जनताले असाध्यै विश्वास गरेको मान्छे भएकोले मेरो जितको सुनिश्चिता देखेको छु । मलाई चुनावमा उठाउन पर्छ भन्ने जनताको माग हो । यहि कारणले मैले उम्मेदवारी दर्ता गरेको हुँ । यसकारण मैले दलित, महिला र जनजाती लगाएतको उत्थान र उन्नती मार्फत समाजलाई एकतावद्व बनाउने लक्ष्य लिएर चुनावमा भिड्दै छु ।

यहाँले चुनाव जित्न कठिनायी छ भन्नुभयो । यो वडा त नेपाली कांग्रेसले जितेको वडा हो नी , गाउँपालिका समेत यहाँहरुको पार्टीले जितेको अवस्थामा हारिन्छ की जितिन्छ भन्ने यहाँलाई किन दोधार भएको हो ?

यहाँले भने जस्तै दोधार त भएकै छैन् तर पनि हिजोको जस्तो परिस्थिति रहेन जसको कारण केही चुनौति चाँही छ । जस्तो की पहिला एकल पार्टी संग लड्दा जति सहज भएको थियो । अहिले पूर्व माओवादी र पूर्व एमालेबीच एकता भएपछि हामी भन्दा उहाँहरु बलियो छ की भन्ने कुरा लाग्नु स्वभाविक हो । तर दुईपार्टीको भित्री आत्मा अझै मिलेको जस्तो मैले पाएको छैन । अन्य ठाउँमा कम्युनिष्ट एकता भएपनि यो ठाउँमा त्यसको प्रभाव परेको जस्तो लाग्दैन, उहाँहरुमै फाटो भएको मैले अनुभुत गरेको छु । यसकारण पनि जनताले मलाई मत दिनेछन् भन्ने मेरो दावी हो ।

दुई पार्टी एक भएको अवस्थामा यहाँ नेपाली कांग्रेसको तर्फबाट चुनावमा भिड्दै हुनुहुन्छ जनताले कतिको रुचाएको यहाँले महसुस गर्नुभएको छ ?

उहाँहरु मिल्नु आफ्नो ठाउँमा छ । मैले अघि नै भनिसकें यसको खासै अर्थ छैन किनकी यस ठाउँका जनताको लागि मैले आफ्नै पहिचान बनाएको छु । ईन्द्रावती ८ मा मैले जनताको सेवार्थ निकै राम्रो काम गरेको हुनाले अशोक तामाङलाई चिन्ने र मेरो कामको मूल्याङ्कनको आधारले मलाई नचिन्ने मान्छे कमै होलान । यसकारण मैले जनताको विकास र सामजिक कामको लागि भोलिका दिनमा पनि निरन्तर प्रयास रहने छ । यहि कुरा मैले जनता संग प्रतिवद्वता जनाईसकेको छु ।

यसपटकको यो चुनावलाई नेकपाले आफ्नो शाख बलियो बनाउने अर्थमा लिएको अवस्थामा यहाँहरुले आफ्नो तयारी चाँही कस्तो गर्दै हुनुहुन्छ ?

हामीले निर्वाचन केन्द्रित तयारी गरिरहँदा खेरी नेकपाको जस्तो ठुल ठुला सपना त मेरो छैन । किनकी हाम्रो पार्टी जनतामा विश्वास गर्ने भएको हुँदा जनता संगै सहकार्य गरेर जाने हो । जहाँसम्म मेरा हिजो जनतामा लगानी गरेका योगदान छन् त्यसको ईमान्दारीपूर्व मूल्याङ्कन पक्कै यहाँका जनताले गर्नेछन् भन्ने मलाई पूर्ण विश्वास रहेको छ । त्यो भन्दा फरक तयारी मेरो छैन ।

यदि यहाँले मंसिर १४ गते हुने निर्वाचनमा यो वडा जित्नुभयो भने केलाई प्राथमिकता दिनुहुन्छ ?

मैले वडा जिते पछि सर्वप्रथम जनताको सामन्य काम देखि विकास निर्माणको कामलाई प्राथमिकता दिनेछु । त्यसको साथै कतिपय पूर्वाधरका अधुरा कामहरुलाई पूर्णता दिनुपर्ने छ । ग्रामिण सडकहरुलाई व्यवस्थित गर्ने छु । साथै शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई प्राथमिकता दिने सोचेको छु ।

चुनावी खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ? पार्टीले सहयोग गर्छ की यहाँको व्यक्तिगत ?

निर्वाचन खर्चको कुरा गर्नुहुन्छ भने म व्यक्तिगत रुपमा पैसा खर्च गरेर चुनाव लड्ने मनस्थिति बनाएको छैन । पैसा भन्दा पनि जनताको विश्वास चाहिन्छ । जहाँसम्म पार्टीको सहयोगको कुरा छ । चुनावी प्रचारप्रसारका काममा पार्टीले आफ्नो ढंगबाट गर्ला । मैले पार्टीबाट आश्वासन पाए अनुसार ५ देखि १० लाखसम्म उहाँहरुले बोल्नुभएको छ । त्यो बाहेक सामन्य प्रचारप्रसार तथा चियाखाजा खर्च बाहेक चुनावको लागि भनेर अन्य खर्च नगर्ने सोचमा म रहेको छु ।

विगतको अनुभवले चुनावमा त धेरै खर्च भयो । अहिले चुनावमा खर्च नै नगरी जितिएला त ?

यो साँच्चै विकृति हो यसको अन्त्य हुनपर्छ । यहाँले भने जस्तै विगतका चुनावमा खर्च अत्याधिक भएकै हो । मेरो बुझाई सबै पार्टीले खर्च उत्तिकै गरेका छन् । यसपटकको चुनावमा विगतमा जस्तो खर्च गर्ने परिपाटी नआउला भन्न सकिन्न । मैले भनीसकेंकी व्यक्तिगत रुपमा खर्च नगर्ने सोचमा छु तर पार्टीले आवश्यकताको आधारमा खर्च गर्ला नै किनकी नयाँ युवा पुस्तालाई परिचालन गर्न खाईखर्च त हुनै प¥यो नी ।

अन्त्यमा यस मिडिया मार्फत यहाँको भनाई केही छ की ?

यहाँको लोकप्रिय मिडिया मार्फत यहाँका आम जनतालाई के भन्न चाहान्छु भने मेरो पार्टी नेपाली कांग्रेसबाट ईन्द्रावती ८ मा वडाअध्यक्ष उम्मेदवार बनेको मलाई जिताउनुहोस । मलाई मत दिनुहोस म तपाईहरुको सेवामा २४ सै घण्टा सेवामा तत्पर हुनेछु । साथै दिगो विकास र यो वडालाई नमुना बनाउने मेरो लक्ष्य रहेको छ । मैले विजयी प्राप्त गरे संगै ईन्द्रावती ८ का जनताहरुलाई शिक्षा दिक्षा लगाएत हृदय देखिनै खुलेर कसरी म अगाडी बढ्नुपर्छ त्यसको लागि तनमन दिएर लाग्ने मेरो प्रतिवद्वता जाहेर गर्न चाहान्छु । धन्यवाद
प्रस्तुती ः दिनेश दुलाल