कुविण्डे दुग्धउत्पादक सहकारी संस्थाको ३१ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न, पुरानै कार्यसमिति चयन

दिनेश दुलाल
मंसिर १६, कुविण्डे । दुग्ध उत्पादनमा सिन्धुपाल्चोक जिल्लाकै क्रियासिल सहकारी संस्था कुविण्डेले आफ्नो ३१ औं वार्षिक साधारसभा सम्पन्न गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुविण्डेमा रहेको सहकारीको ९ औं अधिवेशन तथा ३१ औं साधारणसभाको पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उदघाटन गरेका हुन् ।

वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पूर्व सभामुख सापकोटाले जनयुद्वको उदगम स्थल कुविण्डेले राजनैतिक चेतना सहित कृषि क्रान्तिको चेतनाको समेत अभिभावकत्व लिनु पर्नेमा जोड दिए ।
मिहिनेत परिश्रमले मात्र समाजवादी व्यवस्थाको आधार तयार गर्न सकिने भन्दै कुविण्डेलाई नमुना कृषि क्षेत्रको रुपमा विकास गर्न आफू लागि पर्ने बताए ।

‘कृषिजन्य उत्पादनको क्षेत्रमा तपाईहरुको महिनेत र परिश्रम सह्रानीय छ, यसलाई पूँजिको रुपमा संरक्षण गर्न आवश्यक छ’, माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सापकोटाले भने । कुविण्डेलाई कृषिग्रामको रुपमा विकास गर्न अन्य छिमेकी मुलुकको समेत चासो रहेको बताउँदै पूर्व सभामुख सापकोटाले वर्तमान सरकारले समेत कृषि क्षेत्रको लागि बृहत्तर योजना बनाएको ठोक्वा गरे । अथक मिहिनेत गर्ने कम्युनिष्टहरुको असली संस्कार भएको बताउँदै नेता सापकोटाले सामन्य जनताको जनजीवनसंग जोडिएर सहकारीले कृषि उत्पादनलाई बढवा दिन जोड दिए ।

कार्यक्रममा ४ नम्बर वडाका वडाअध्यक्ष कुमार शर्माले कुविण्डेलाई नमुना कृषि क्षेत्रको रुपमा चिनाउन दुग्ध उत्पादक सहकारी संस्थाको ठूलो लगानी र योगदान रहेको बताउँदै नगर तथा वडाले समेत दुग्ध उत्पादनको पकेट क्षेत्रको रुपमा कुविण्डेलाई अझै विकास गर्न लागेको बताए ।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले सहकारीको वार्षिक साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना दिएका थिए । साधारसभामा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

३ सय ८० महिला, ४ सय ८८ पूरुष गरी ८ सय ६८ जना शेयर सदस्य रहेको उक्त सहकारीको कार्यक्षेत्र चौतारा साँगाचोकगढी नगरपालिकाको २ र ४ तथा बलेफी गाउँपालिकाको पनि २ र ४ वडा नै समेटिएको सहकारीले जनाएको छ । अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उक्त सहकारी मार्फत चौतारा साँगाचोकगढी नगरपालिकाले दुधमा अनुदान प्रतिलिटर ४ रुपैंको दरले १९ लाख ३१ हजार ९ सय ८ रुपैंया कृषकको दुधको आधारमा वितरण गरिएको उल्लेख छ ।

आलु उत्पादनको सबै भन्दा राम्रो क्षेत्र मानिएको कुण्डिेका किसान लक्षित शित भण्डार सहकारीकै पहलकदमीमा निर्माणधिन रहेको अध्यक्ष प्रेमप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सहकारीको नौविसे र आफ्नै भवन कुण्डिेमा चिस्यानकेन्द्र चालु अवस्थामा रहेको छ । सहकारीको २०७९÷०८०मा ७ करोड ३१ लाख ५७ हजार ५ सय ७६ को आर्थिक कारोबार गरिएको समेत सहकारीले जनाएको छ । सहकारीका अनुसार संस्थाको शेयर पूँजि ७४ लाख ६४ हजार ८ सय रहेको छ ।

सहकारीले डिडिसिसंग दुध विक्री गरेको मात्रै आर्थिक वर्ष २०७९–०८०मा २ करोड ८४ लाख १५ हजार ४२ रुपैंया रहेको छ । त्यस्तै खुद्रा विक्री ३ लाख ९० हजार ३ सय ५०, खुद्रा दुध विक्री स्थानीय बजारमा ८८ लाख ८२ हजार ८ सय १४ गरेर ३ करोड ७६ लाख ८८ हजार ५ सय ६ रुपैंया बराबरको दुध विक्री गरिएको सहकारीका संस्थाका कोषाध्यक्ष खिकाप्रसाद नेपालले जानकारी दिए ।

यसैबीच सहकारीको ९ औं साधारणसभाबाट प्रेमप्रसाद सापकोटा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहकारीको सञ्चालक समितिको पदाधिकारीमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः अप्सरा सापकोटा, गंगाप्रसाद नेपाल र खिकाप्रसाद नेपाल रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश नेपाल, बेलबहादुर नेपाल, सूर्यबहादुर नेपाल, रमेश सापकोटा, थरीप्रसाद सापकोटा, कुमार सापकोटा, प्रतिमा आचार्य र लक्ष्मी सापकोटा रहेका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिमा रामजीबहादुर नेपालको संयोजकत्वमा माधव प्रसाद सापकोटा र लक्ष्मीदेवी सापकोटा रहेका छन् । त्यस्तै ऋण उपसमितिमा गोविन्द सापकोटाको संयोजकत्वमा टेकबहादुर नेपाल र डुन्डुप्रसाद बजगाई रहेको संस्थाका सचिव गंगाप्रसाद नेपालले जानकारी दिए ।

सोही कार्यक्रमको अवसरमा सहकारीले उत्कृष्ट किसान तथा असल ऋणी लगाएत विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको संस्थाका प्रशासन व्यवस्थापक दुर्गाप्रसाद सापकोटाले जानकारी दिए ।