आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

जेष्ठ २१, चौतारा । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र अनिवार्यरुपमा आमाको दूध चुसाउनु पर्ने भए पनि यसरी दूध खुवाउने आमाहरुको संख्या निकै कम भएको पाइएको छ ।

स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरुको संख्या ८० प्रतिशतभन्दा बढी भए पनि शिशुलाई एक घण्टाभित्र आमाको दूध खुवाउने दर ५५ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ । जसले गर्दा शिशु र आमा दुवैको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि यससम्बन्धी ऐन बनेको ३३ वर्षपछि सरोकारवालाहरुले चासो दिन थालेका छन् ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ सालमै बनेको हो । तर यसको कार्यान्वयन भने भएको छैन । भर्खरै मात्र यसलाई कार्यान्वयनमा ल्याइँदैछ । यस ऐनमा के छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरु नै अनविज्ञ रहेका छन् । के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी नहुँदा नजानेरै पनि ऐन विपरित आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण भइरहेको पाइएको छ ।
बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा यसै सन्दर्भमा एक कार्यक्रमको आयोजना गरिएको हो ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहआयोजनामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण २०४९ क मा स्थानपान तथा लागू औषध सम्बन्धी सरोकारवाला निकायहरूसँग अभिमुखीकरण कार्यक्रम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता भगवती देवी गौतम, प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्य, वडाध्यक्ष शिव श्रेष्ठ, चौतारा साँचोगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, चौतारा अस्पतालका विवेक भण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाईं लगायतको उपस्थिति रहेको थियो । जसमा चौतारा साँगाचोकगढी नगरपालिकाभित्र रहेका औषधी व्यवसाय, निजी स्वास्थ्य संस्था, डिपार्टमेन्ट स्टोर संचालकहरु लगायतको उपस्थिती थियो । कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा प्रोत्साहन गरे कस्तो सजायँको व्यवस्था छ भन्ने बारेमा छलफल र अन्तरक्रिया गरिएको थियो ।

स्तनपानको संरक्षण र संबद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहार विक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न यो ऐन बनेको हो । ऐन पालन भए नभएको तोकिए बमोजिम सुपरिवेक्षण गर्ने, ऐनका प्रावधानहरु उल्लङ्घन गर्ने उत्पादक, वितरक वा स्वास्थ्य कार्यकर्ताविरुद्ध अनुसन्धान तथा मुद्दा चलाउन सिफारिश गर्ने र उत्पादक तथा वितरकले पेश गरेको उत्पादनका लेवलहरु पुनरावलोकन गरी ऐनको प्रावधान अनुकुल भएका लेवलहरु स्वीकृत गर्नेलगायत विषयहरु यस ऐनमा उल्लेख छन् ।

बाल आहारसम्बन्धी सूचना र शैक्षिक सामग्रीमा खुलाउनु पर्ने कुराहरु (दफा ७) मा स्तनपानका फाइदा र विशिष्टता, आमाको पोषण लगायत स्तनपान तयार गर्ने र स्तर कायम राख्ने तरिका, शिशिबाट दूध खुवाउँदा वा छुट्टै पूरक खाद्य पदार्थ खुवाउँदा स्तनपानलाई प्रतिकूल असर पार्ने कुराहरु र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उचित प्रयोग तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित तयारीबाट तथा अनुपयुक्त खाना खुवाउँदा र शिशिबाट खुवाउँदा स्वास्थ्यमा पर्ने खराबीका बारेमा उल्लेख छ ।