अरनिको राजमार्गको दिगो स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी
जेठ ५, काठमाडौं । चीन सरकारले अरनिको राजमार्गको दिगो स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी नेपाल सरकारलाई दिने भएको छ ।

अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी -चिनियाँ मुद्रा) अनुदान सहायता नेपाल सरकारले आजै स्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्ताव बमोजिम उक्त वैदेशिक अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको हो । सहायता रकम अनुदान रकमः ७९.३६ मिलियन आरएमबी -चिनियाँ युआन) -नेपाली रुपैयाँमा करिब पौने २ अर्ब रुपैयाँ बराबर) रहेको छ ।
चीनसँग जोड्ने रणनीतिक महत्त्वको अरनिको राजमार्गको मर्मत तथा सुधार गर्न चीन सरकारले उक्त रकम नेपाल सरकारलाई दिने घोषणा गरेको थियो ।
यो अनुदान स्वीकृत भएसँगै बाढी, पहिरो र भूकम्पका कारण पटक–पटक क्षतिग्रस्त बन्दै आएको अरनिको राजमार्गको अवस्था सुधार गर्न र सीमापार व्यापार सहज बनाउन ठूलो सहयोग पुग्ने सरकारले जनाएको छ ।
निरन्तरको कूटनीतिक प्रयासस्वरूप चीन सरकारले अरनिको राजमार्ग स्तरोन्नतिका लागि ७९.३६ मिलियन आरएमबी अनुदान प्राप्त भएको सिन्धुपाल्चोकका पूर्व सांसद माधव सापकोटाले बताए । उनका अनुसार जनप्रतिनिधिका रुपमा तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा, चिनियाँ राजदूत छन सोङ सहित इको पहिरो क्षेत्रको निरीक्षण गरी अगाडि बढाइएको पहलले सार्थकता पाएको हो ।
स्मरण रहोस आजै बसेको मन्त्रीपरिषदको बैठकले सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय लिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयबाट आएको प्रस्तावअनुसार नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विटजरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलयिन स्वीस फ्र्यांक स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार उता अरनिको राजमार्ग मर्मत तथा सुधारका लागि चीन सरकारले दिने ७९. ३६ मिलियन आरएमबी अनुदान रकम पनि स्वीकार्ने निर्णय भएको छ ।

