चौतारा अस्पताल देशकै उकृष्ट हुन सफल


चैत्र ११ (२०८२), चाैतारा । सिन्धुपाल्चोक जिल्लाको प्रदेशिक चौतारा अस्पताल देशकै उत्कृष्ट हुन सफल भएकाे छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन तथा क्लिनिकल अडीट मापन ‘ए’ लेभलमा ९६ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको हाे ।

वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन प्रशासनिक व्यवस्थापनमा ९७ प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ९५ प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा ९७ प्रतिशत गरी कुल १ सय प्रतिशतमध्ये ९६ प्रतिशत अंक ल्याइ चौतारा अस्पताल ५० शैया वर्गको अस्पतालमा पहिलो भएको हो।

निर्देशनालले २०८२ चैत ८ र ९ गते अस्पतालमा न्यूनतम सेवा मापदण्डको अनुगमन गरेको थियो । अनुगमनपछि समिक्षा कार्यक्रममा विभिन्न २६ सूचाङ्को आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ४ अंक नपुग्नुका कारणहरू बारेसमेत समिक्षा गर्दै अगामी वर्ष शतप्रतिशत अंक ल्याउन काम गर्ने अस्पतालले जनाएको छ ।

निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र तामाङ सहितको पाँच सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९६ प्रतिशत ल्याइ नेपालमै ५० शैया समूहमा प्रथम भएको कार्यक्रममा बताए । ‘चौतारा अस्पतालको रेकडिङ रिपोटिङ, नियमित मर्निङ कन्फरेन्स, डाटा भेरीफिकेसनलगायतका कार्यहरू उत्कृष्ट देखिएको छ ।
स्मरण रहाेस यसअघि अस्पताल वाग्मती प्रदेशको प्रथम, देशभरीको दोस्रो भएको थियो ।