हाइड्रोलाई समस्या खडा गर्ने बिचौलियाको योजना असफल, स्थानीयसंग सहमति पछि ब्रम्हायणीको निर्माण कार्य सुचारु

दिनेश दुलाल
मंसिर २२, चौतारा । मुलुकमा जेन–जी आन्दोलन पछि त्यसको प्रभाव उद्योग, कलकारखाना देखि हरेक क्षेत्रहरुमा परिरहेको छ । यसको ज्वलन्त उदाहरण सिन्धुपाल्चोक जिल्लामा रहेका जलविद्युत आयोजनाहरु हुन ।

भोटेकोशी गाउँपालिकामा रहेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना विरुद्व भदौ २५ गते जेन–जी को नाममा स्थानीयले १० प्रतिशत फ्री सेयरको माग राख्दै आयोजना एक महिना बन्द गरे । करिब एकमहिना पछि स्थानीयलाई स–शुल्क सहित १० प्रतिशत सेयर दिने सहमति पछि बल्ल आयोजना सञ्चालनमा ल्याइयो । तर यसको प्रभाव जिल्लाभरीका जलविद्युत आयोजनाहरुमा अझै परिरहेको जलविद्युतका लगानीकर्ताहरु बताउँछन् ।

सोझा सादा स्थानीयलाई प्रलोभनमा पारेर टाठा बाठा बिचौलीयाहरुले एकपछि अर्को जलविद्युत आयोजना विरुद्व आन्दोलनको नाममा अराजकता मच्चाएको उनीहरुको भनाई छ । एकदर्जन भन्दा बढि जलवद्युत आयोजनाहरु निर्माणको क्रममा रहेको जिल्लाको जुगल गाउँपालिकामा पछिल्लो समय यसको प्रभाव परेको निर्माणधिन ब्रम्मायणी हाइड्रोपावर कम्पनी प्रा.ली.का अध्यक्ष भरत पराजुली बताउँछन् । प्रभावित स्थानीयले जायज माग राखेर आयोजनालाई ध्यानकर्षण गराउनु स्वभाविक भएपनि बिचौलीयाहरु घुषपैठ गरेर अनावश्यक माग राखी जलविद्युत आयोजना नै कब्जा गर्ने, तोडफोड गर्ने र कर्मचारीलाई धमक्याउने गरिएको उनले बताए । एकसाता भन्दा बढी बन्द गराइएको ब्रम्मायणी हाइड्रोपावर कम्पनी आईतबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा स्थानीयसंगको सहमति पछि आयोजनाको काम पुनः सुचारु भएको उनको भनाई छ ।

उक्त सहमति पछि आयोजनालाई धराशाही बनाउने विचौलीयाहरको प्रयास असफल भएको पराजुलीले बताए । ‘स्थानीय प्रभावितको माग प्रति संधै सकारात्मक र पुरा गर्ने प्रतिबद्वतामै छौं, सोही अनुसार सहमति भएको हो’, पराजुलीले सिन्धुज्वालासंग भने । बिचौलीया बाहेक स्थानीयसंग आयोजना जुगलको विकासमा संधै हातेमालो गरेर सहकार्य गर्न चाहेको उनले प्रतिक्रिया दिए ।

उनका अनुसार जुगल गाउँपालिकाका दिपु, तेगा, तेम्बाथान र साङगुलिङ क्षेत्रका स्थानीयवासीसँग ९ बुँदे सहमति भएपछि ३६.५२ मेगावाट क्षमताको ब्रम्हायणी जलविद्युत् आयोजनाको कार्य पुनः सुरु भएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजना पक्ष, स्थानीयवासी तथा जनप्रतिनिधि बीच छलफल आयोजना गरिएको थियो ।
वडा अध्यक्ष लक्ष्मण दोङ र चन्द्रकाजी लामाको रोहवरमा भएको छलफलपछि ९ बुँदे प्रारम्भिक सहमति गरिएको थियो । सहमतिमा आयोजनातर्फबाट सनत कुमार अधिकारी र स्थानीयवासी तर्फबाट निम तार्के शेर्पा तथा निमा वाङ्दी शेर्पाले हस्ताक्षर गरेका थिए ।

वार्ताका लागि दिपु, तेगा, साङगुलिङ र तेम्बाथानका एक सयभन्दा बढी स्थानीय चौतारामा उपस्थित भएका थिए । यसअघि दुई पटक वार्ताका लागि बोलाउँदा स्थानीयहरू सहभागी नभएका कारण छलफल अघि बढ्न सकेको थिएन । सहमति भएपछि १० दिनदेखि लागेको ताला खोल्ने र आयोजनाको काम सुचारु गर्न स्थानीयवासी सहमत भएका हुन् ।

यस्तो छ सहमतिको मुख्य ९ बुँदा

१) सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम प्रभावित क्षेत्रमा गाउँपालिकासँग समन्वय गरेर स्थानीयको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिने।
२) दिपु बस्ती संरक्षण कार्य आयोजनाले तत्काल सुरु गर्ने।
३) तेम्बाथान बस्तीको सडक चौडा तथा व्यवस्थित बनाउन आयोजनाले सहयोग गर्ने।
४) कुमजोङ खोला–तेम्बाथान बेलिब्रिज निर्माण गाउँपालिकाको समन्वयमा ब्रम्हायणी हाइड्रो र अपर बलेफी ४६ मेगावाट हाइड्रोको साझेदारीमा सम्पन्न गर्ने ।
५) आवश्यक जनशक्ति भर्ती दक्षताको आधारमा सम्भव भएसम्म स्थानीयबाट गर्ने ।
६) साङलुङ बस्तीमा बिजुली उपलब्ध गराउने दायित्व आयोजनाले लिने ।
७) अघिल्लो सहमति र समझदारीहरू प्राथमिकताका साथ कार्यान्वयन गर्ने ।
८) आयोजनामा भइरहेको अवरोध हटाई आजैदेखि काम सुचारु गर्न स्थानीयले सहयोग गर्ने ।
९) बाँकी न्यायोचित मागहरू कानुनअनुसार क्रमिक रूपमा सम्बोधन गर्दै जाने ।