३२ दिनपछि स्थानीयलाई सेयर उपलब्ध गराउने सहमति सहित माथिल्लो भोटेकोशी जलविद्युत सञ्चालनमा
दिनेश दुलाल
२७ असोज, तातोपानी । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना सोमबारबाट सञ्चालनमा आएको छ । उत्पादक भोटेकोशी पावर कम्पनीले गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि ३२ दिन देखि बन्द पावरहाउस खुलुको हो ।
भोटेकोशीका स्थानीयले जेन–जीको नाममा आन्दोलित स्थानीयले आयोजनाको विद्युतगृह बन्द गरेका थिए । १० प्रतिशत ‘फ्री सेयर’ माग राखेर आन्दोलन गरिरहेका पक्षसंग कम्पनीले पटक–पटक वार्ताको प्रयास गरेपनि सफल हुन सकेको थिएन । आइतबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको रोहबरमा प्रशासनकै कार्यकक्षमा प्रतिकित्ता सेयर एक सय हुने गरी उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयले खरिद गर्नेगरी १० प्रतिशत सेयर उपलब्ध गराउन कम्पनी सहमत भएको माथिल्लो भोटेकोशी पावर कम्पनीका सह माहाप्रवन्धक बबिन प्रधानले जानकारी दिए ।

उनका अनुसार कम्पनीका प्रतिनिधि, गाउँपालिका जनप्रतिनिधि, जेन–जी प्रतिनिधि र स्थानीय अगुवासहितको सर्वपक्षीय बैठकले सेयरबारे सहमति जुटाएको हो । बन्द भएको पावर हाउस सोमबार दिउसबाट सञ्चालनमा ल्याउने आयोजना प्रमुख प्रेम साउदले जानकारी दिए । लामो समय बन्द भएको विद्युत गृहको अवस्थाको परिक्षण गरेपछि पूर्ण सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए । उनका अनुसार आयोजना स्थल छाडेर काठमाडौं केन्द्रित सबै कर्मचारी सोमबार १० बजे भोटेकोशी पुग्दैछन् ।
स्मरण रहोस उत्पादन सुरु भएको २५ वर्षपछि कम्पनीले स्थानीयलाई सेयर प्रदान गरेको हो । यसअघि २०७१ पुसमा राजनीतिक दलसँग ६ प्रतिशत सेयर दिने सहमति भएको थियो । यद्यपि, प्राकृतिक विपत्तिको कारणले सेयरको विषय स्थगित भएको थियो । कम्पनीले त्यतिबेलै करोडौं नोक्सानी व्यहोरेको थियो । यसपटक ३२ दिन बन्द हुँदा ३२ करोड गुमाएको भोटेकोसी पावर कम्पनी लिमिटेडले जनाएको छ । उक्त आयोजनाले स्थानीय प्रभावित जनताको लागि विकास निर्माण लगाएत सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ भने भोटेकोशी गाउँपालिकालाई बार्षिक २ करोड ५० लाख सहयोग गर्दै आएको छ ।
यस्तो छ सहमति
१) भोटेकोशी अपावर कम्पनी प्राईभेट लिमिटेड दोस्रो पक्षले आफ्नो सेयर मध्यबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो । दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनिएको उल्लेखित १० प्रतिशत सेयर साविक मिति २०७१÷९÷९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रति कायम गर्ने निर्णय गरियो ।
२) दोस्रो पक्षको सेयरको अंकित मूल्य रु १०० रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने सेयर सन्दर्भमा प्रथम पक्षले कर्जाको लागि बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागि दोस्रो पक्षले जमानीको व्यवस्था गर्ने एवम सो कर्जा आगमी एकबर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाद रुपमा संधैं सञ्चालन भएको अवस्थामा कर्जा तथा व्याज समेत चुक्ता हुनेगरी दोस्रो पक्षले गर्ने सो लाभांशबाट फछ्र्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सहकार्ने सहमति गरियो । त्यसैमा पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीेको सेयरधनी बनाईसकेपछि दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति गरियो ।
३) दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वावत दिंदै आएको साविकको रकममा थप गरी वार्षिक रुपमा जम्मा रु दुईकरोड ५० लाख दिने सहमति गरियो । अब उप्रान्त साविकमा विभिन्न शिर्षकमा दिंदै आएको रकम प्रथम पक्ष लगाएत कसैले पनि दावी नगर्ने सहमति गरियो ।
४) दोस्रो पक्षको आयोजनामा विभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानको लागि प्रथम पक्षको समेत पूर्ण साथ र सहयोग रहने सहमति गरियो ।
५) आयोजनाको पावर प्लान आजकै मितिबाट सञ्चालन सहमति गरियो । स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाको कर्मचारीहरुको सुरक्षा समेत गरी शान्तीपूर्वक सञ्चालन गर्ने जिम्मेवारी प्रथम पक्षले दिने सहमति गरियो ।




