सिन्धुपाल्चोकमा दलित समुदायले मनाए १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
२२ जेठ (२०८२), बुधबार देशभर दलित समुदायले १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएका छन् ।
यसै अवसरमा सिन्धुपाल्चोकका दलित समुदायले समेत चौतारामा १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसमा ¥याली तथा जनसभा सम्पन्न गरेका छन् ।

दलित समन्वय समिति, चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रम चौतारा भिन्तुनाचोकबाट सुरु भई सोही स्थानमा जनसभा गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै जातीय छुवाछुतमुक्त राष्ट्र निर्माणका लागि राष्ट्रिय संकल्प आवश्यक रहेको बताए। उनले श्रम विभाजनको नाममा हजारौँ वर्षदेखि चालिएको षड्यन्त्र अन्त्य गर्दै सबै प्रकारका जातीय भेदभाव र छुवाछुत पूर्ण रूपमा समाप्त गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, उपप्रमुख सिता थापाले दलित समुदायका सदस्यहरू सांसद, मन्त्रीदेखि प्रमुख, उपप्रमुखसम्म बन्न सफल भएको स्मरण गर्दै नगरपालिकाका कार्यक्रमहरू दलितमैत्री हुने प्रतिबद्धता व्यक्त गरिन् । उनले सामाजिक न्याय, समानता र समावेशिताको आधारमा सहिष्णु र एकताबद्ध समाज निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै जातीय विभेद र छुवाछुत पूर्ण रूपमा उन्मूलन हुनुपर्ने बताइन् ।
कार्यक्रममा नगर सामाजिक विकास संयोजक रामप्रसाद गौतम, जिल्ला नेता गणेश विक लगाएत नेताहरुले २१ औं शताब्दीमा अझै पनि दलित र गैर दलित भनेर सामाजिक रुपमा छुट्टिने गरेकोमा अन्तरघुलनको आवश्यकता रहेको बताए । दलित समन्वय समिति नगर उपाध्यक्ष रामशरण विकले यस्ता कार्यक्रमहरूले समुदायमा अन्तरघुलन र सामाजिक ऐक्यबद्धताको सन्देश फैलाउने विश्वासका साथ कार्यक्रम गरिएको बताए ।
स्मरण रहोस २०६३ साल जेठ २१ गते संसद्बाट नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको सम्झनामा २०६८ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

