बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङ किर्ते आरोपमा पक्राउ

जेठ ७, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् ।

विवाहित पुरुषलाई ‘अविवाहित’ भएको गलत सिफारिस जारी गरेको आरोपमा वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका हुन् ।

समाचार स्रोतका अनुसार ती पुरुषकी श्रीमतीले आफ्ना श्रीमान् विवाहित भएको हुनाले त्यस्तो सिफारिस नगर्न वडा कार्यालयमा लिखित निवेदन दिएकी थिइन् । तर, वडाध्यक्षले उक्त निवेदनलाई बेवास्ता गर्दै अविवाहितको सिफारिस जारी गरे ।

पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उनलाई बाह्रबिसेबाट नियन्त्रणमा लिएको हो । प्रहरीले वडा कार्यालयबाट सिफारिससम्बन्धी कागजात र दर्ता किताबसहितका प्रमाणहरू बरामद गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङमाथि अदालतबाट म्याद थप गरी कीर्ते लिखत कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।