१० बर्षे जनयुद्धले उठाएको महिला सहभागिताको मुद्दा

नेपालको जनयुद्ध केवल एउटा राजनीतिक संघर्ष मात्र थिएन, त्यो नेपाली महिलाहरूको अस्तित्व, आत्मसम्मान र समान अधिकारको खोजीको ऐतिहासिक आन्दोलन पनि थियो । शताब्दीयौँदेखि पितृसत्तात्मक सोच, सामन्ती संस्कार र निरंकुश राज्यसत्ताले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दै आएको थियो । घरभित्र सीमित, निर्णय प्रक्रियाबाट टाढा, शिक्षा र सम्पत्तिको अधिकारबाट वञ्चित, हिंसा र विभेदको सिकार—यस्तो यथार्थबीच नेपाली महिलाहरूले जनयुद्धमार्फत आफ्नो आवाज बुलन्द गरिन् । त्यसैले पितृसत्तावादी सामन्ती राजतन्त्रको अन्त्यका लागि भएको संघर्ष महिलाहरूका लागि केवल शासन परिवर्तन होइन, जीवन परिवर्तनको अभियान थियो ।
जनयुद्धमा नेपाली महिलाहरूको सहभागिता संख्यात्मक मात्र थिएन, गुणात्मक रूपमा पनि अत्यन्त सशक्त थियो । हजारौँ महिलाहरू लडाकु, कमाण्डर, राजनीतिक कार्यकर्ता, सांस्कृतिक योद्धा र जनसंगठकका रूपमा अगाडि बढे । उनीहरूले बन्दुक बोके, तर त्यससँगै चेतना पनि बोके । उनीहरूले मोर्चा संहाले, तर त्यससँगै गाउँ–गाउँमा लैंगिक समानताको बीउ रोपे । बालविवाह, छुवाछूत, दाइजो प्रथा, घरेलु हिंसा जस्ता कुप्रथाविरुद्ध जनचेतना फैलाउने काममा महिलाहरू अग्रपंक्तिमा थिए । जनयुद्धले महिलालाई “सहने” भूमिकाबाट “नेतृत्व गर्ने” भूमिकामा पु¥यायो ।
विशेषगरी दलित, जनजाति, मधेसी र ग्रामीण क्षेत्रका महिलाहरूका लागि यो आन्दोलन आत्मसम्मानको क्रान्ति थियो । जसलाई सदियौँदेखि “कमजोर” र “निर्णय गर्न नसक्ने” भनेर हेला गरिन्थ्यो, ती महिलाहरूले कठिनतम परिस्थितिमा रणनीतिक निर्णय लिए, संगठन निर्माण गरे र बलिदानसमेत दिए । हजारौँ महिलाहरू सहिद भए, कैयौँ बेपत्ता भए, धेरैले यातना सहे। तर उनीहरूको संघर्षले नेपाली राज्यको चरित्र बदल्ने आधार तयार ग¥यो । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना महिलाहरूको रगत, आँसु र साहसको परिणाम हो भन्नु अतिशयोक्ति होइन ।
म आफैँले पनि त्यो ऐतिहासिक यात्रामा सानो भए पनि भूमिका खेलेको स्मरण गर्दा गर्वले शिर उँचो हुन्छ । त्यो गर्व व्यक्तिगत अहंकार होइन, सामूहिक संघर्षको हिस्सेदार भएको आत्मसम्मान हो । हिजो जंगल र गाउँमा जोखिम मोलेर अगाडि बढ्दा हामीले व्यक्तिगत स्वार्थका लागि होइन, भावी पुस्ताका छोरीहरूको उज्यालो भविष्यका लागि लडेका थियौँ । आज पनि र भोलि पनि त्यो योगदानप्रति गर्व रहिरहनेछ, किनकि त्यो संघर्ष महिलाहरूको समान अस्तित्वका लागि थियो ।
राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएपछि महिलाहरूका लागि कानुनी रूपमा धेरै उपलब्धि हासिल भए । संविधानले समान अधिकार सुनिश्चित ग¥यो, राज्यका निकायहरूमा समावेशी प्रतिनिधित्वको व्यवस्था भयो, नागरिकता, सम्पत्ति र राजनीतिक सहभागिताका अधिकारहरू विस्तार भए । संघीय संरचनाले स्थानीय तहसम्म महिलाको नेतृत्व स्थापित गर्ने अवसर दियो । आज गाउँपालिका, नगरपालिका, प्रदेश र संघीय संसद्सम्म हजारौँ महिला जनप्रतिनिधि छन् । यो उपलब्धि आकस्मिक होइन; यो जनयुद्ध र त्यसपछिको जनआन्दोलनको निरन्तर संघर्षको परिणाम हो ।
तर आजको परिवेशमा केही प्रवृत्तिहरू चिन्ताजनक देखिन्छन् । नयाँ पार्टी वा नयाँ नाराको आवरणमा गणतन्त्रको मूल्य र इतिहासलाई बेवास्ता गर्दै केही सेलिब्रेटी शैलीका व्यक्तिहरू जनतामाझ चर्को स्वरमा प्रस्तुत भइरहेका छन् । उनीहरूले संघर्षका कठिन दिनहरू देखेका छैनन्, उत्पीडित महिलाहरूको पीडा भोगेका छैनन्, सहिद परिवारको आँसु पुछेका छैनन् । तर आज उनीहरू परिवर्तनका मुख्य दावेदार जस्तो देखिन खोजिरहेका छन् । यस्तो प्रवृत्ति वास्तवमा ती सहिद महिलाहरू र आम उत्पीडित वर्गको बलिदानप्रति असंवेदनशीलता हो ।
जसले आम महिला, दलित र शोषित वर्गका लागि आफ्नो प्राण आहुति दिए, उनीहरूको सम्मान केवल भाषणले होइन, उनीहरूले चाहेको समतामूलक समाज निर्माण गरेर मात्र सम्भव हुन्छ । यदि गणतन्त्रको आधारभूत मूल्य—समानता, समावेशिता, सामाजिक न्याय—लाई कमजोर पार्ने प्रयास हुन्छ भने त्यो महिलाहरूको संघर्षमाथि प्रहार हो । किनकि गणतन्त्रको सबैभन्दा ठूलो लाभार्थी उत्पीडित महिला समुदाय नै हो, जसले पहिलो पटक राज्यमा आफ्नो औपचारिक र संस्थागत उपस्थिति सुनिश्चित ग¥यो ।
आजको नेपाली कम्युनिस्ट आन्दोलनले महिलामुक्तिको एजेन्डालाई राजनीतिक मूलधारमा ल्याएको ऐतिहासिक योगदान छ। जनयुद्धको क्रममा “महिला बिना मुक्ति सम्भव छैन” भन्ने स्पष्ट दृष्टिकोण अघि सारियो । कमरेड प्रचण्डको नेतृत्वमा महिलाहरूलाई संगठनात्मक, सैन्य र राजनीतिक जिम्मेवारीमा अगाडि बढाउने नीति लिइयो । यही नीतिले हजारौँ महिलालाई आत्मविश्वास र नेतृत्व क्षमतामा रूपान्तरण ग¥यो । त्यसैले उनको नेतृत्वलाई केवल व्यक्तिगत रूपमा होइन, महिलालाई राजनीतिक केन्द्रमा ल्याउने प्रक्रियाको नेतृत्वका रूपमा बुझ्नुपर्छ ।
यद्यपि, केवल इतिहासको स्मरण पर्याप्त छैन । आज पनि महिलामाथि हिंसा, बलात्कार, मानव बेचबिखन, आर्थिक असमानता र निर्णय प्रक्रियामा सीमित प्रभाव जस्ता समस्या विद्यमान छन् । कतिपय अवस्थामा पितृसत्तात्मक सोच नयाँ स्वरूपमा पुनः देखा परेको छ । त्यसैले जनयुद्धको भावना जीवित राख्नु भनेको महिलाको वास्तविक सशक्तीकरण सुनिश्चित गर्नु हो । शिक्षा, रोजगारी, स्वास्थ्य, राजनीतिक नेतृत्व र सामाजिक सम्मानमा बराबरी स्थापित गर्नु हो ।
महिलामुखी गणतन्त्र भनेको कागजमा मात्र समानता लेख्नु होइन; व्यवहारमा महिलालाई सुरक्षित, आत्मनिर्भर र निर्णायक बनाउनु हो । स्थानीय तहका महिला जनप्रतिनिधिलाई सशक्त बनाउने, सहिद महिला परिवारलाई सम्मान र संरक्षण दिने, लैंगिक न्यायलाई राज्यको प्राथमिकतामा राख्ने यी सबै कार्यहरू गणतन्त्रको रक्षा र सुदृढीकरणका आधार हुन् । महिलाहरूको सक्रिय राजनीतिक सहभागिता नै लोकतन्त्रको गहिराइ मापन गर्ने सूचक हो ।
अन्ततः जनयुद्धको ऐतिहासिक योगदानलाई महिलाको दृष्टिकोणबाट हेर्दा यो आन्दोलन नेपाली महिलाको पुनर्जन्मको कथा हो । शताब्दीयौँको मौनता तोडेर, भय र संकोच हटाएर, नेतृत्वको अग्रपंक्तिमा उभिएको साहसको कथा हो ।
जनयुद्धको इतिहासलाई नजिकबाट हेर्दा सिन्धुपाल्चोक जिल्ला नेपाली महिलाहरूको साहस, त्याग र नेतृत्व क्षमताको ज्वलन्त उदाहरणका रूपमा उभिन्छ । विकट भौगोलिक अवस्था, राज्यको कमजोर पहुँच र सामन्ती संरचनाको गहिरो प्रभावका बाबजुद सिन्धुपाल्चोकका महिलाहरू जनयुद्धको प्रारम्भिक चरणदेखि नै आन्दोलनको अग्रपंक्तिमा रहे । उनीहरू केवल समर्थक मात्र थिएनन्, संगठनकर्ता, लडाकु, सांस्कृतिक कार्यकर्ता र राजनीतिक नेतृत्वकर्ता बनेर आन्दोलनलाई जीवन्त बनाउने आधारशिला बने ।
सिन्धुपाल्चोकका गाउँ–बस्तीहरूमा महिलाहरूले भूमिगत संगठन निर्माण, गोप्य सूचना संकलन, लडाकुहरूको आवास व्यवस्थापन, घाइतेहरूको उपचार र जनचेतना अभियान सञ्चालनजस्ता जिम्मेवारीहरू काँधमा बोके । थुप्रै महिलाहरूले घर–परिवारको सीमाभित्र थुनिएको जीवन तोडेर बन्दुकसँगै विचार बोक्दै युद्धमोर्चामा पाइला टेके । यस क्रममा धेरैले सहादत प्राप्त गरे, धेरै बेपत्ता भए र कैयौँले यातनापूर्ण जेल जीवन भोगे । उनीहरूको बलिदानले सिन्धुपाल्चोकलाई महिलामुक्ति आन्दोलनको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित ग¥यो ।
विशेषगरी तामाङ, दलित, मगर, नेवार र ग्रामीण क्षेत्रका महिलाहरूका लागि जनयुद्ध आत्मसम्मानको नयाँ ढोका खोल्ने माध्यम बन्यो । परम्परागत रूपमा निर्णय प्रक्रियाबाट टाढा राखिएका यी महिलाहरूले संगठनको नेतृत्व गर्दै गाउँस्तरदेखि जिल्ला तहसम्म जिम्मेवारी सम्हाले । यसले केवल व्यक्तिगत जीवनमा परिवर्तन ल्याएन, समुदायको सोचमै परिवर्तनको लहर सिर्जना ग¥यो । बालविवाह, घरेलु हिंसा, छुवाछूत र मदिरा दुव्र्यसनविरुद्ध सिन्धुपाल्चोकका महिलाहरूले सञ्चालन गरेका अभियानहरूले सामाजिक रूपान्तरणको बलियो आधार तयार ग¥यो ।
आज गणतन्त्र स्थापना पछिको सिन्धुपाल्चोकमा देखिएको महिला राजनीतिक उपस्थिति यही संघर्षको निरन्तरता हो । स्थानीय तहका उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यदेखि प्रदेश र संघीय तहसम्म पुगेका महिला नेतृहरू जनयुद्धकालीन चेतनाको जीवित प्रतीक हुन् । उनीहरू केवल प्रतिनिधि होइनन्, विकास, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका सवालमा निर्णायक भूमिका खेलिरहेका छन् ।
यसर्थ, सिन्धुपाल्चोक जिल्लामा महिलाहरूको भूमिका जनयुद्धको एउटा सहायक पाटो मात्र होइन, यसको मेरुदण्ड नै हो । यहाँका महिलाहरूले देखाएको साहस, संगठन क्षमता र बलिदानले प्रमाणित गर्छ । महिला नेतृत्वबिनाको कुनै पनि क्रान्ति पूर्ण हुन सक्दैन । सिन्धुपाल्चोकका सहिद महिला योद्धाहरूको सम्झना र जीवित संघर्षशील महिलाहरूको सम्मान गर्दै, उनीहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्नु नै जनयुद्धको वास्तविक सम्मान हुनेछ ।
लेखक ः नेपाली कम्युनिष्ट पार्टीकी महिला नेतृ हुन ।

