माओवादी सिन्धुपाल्चोकबाट युगिन र सोनाम एकल सिफारिस
२८ पौष, चौतारा । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) सिन्धुपाल्चोकले आसन्न फागुन २१ गतेको प्रतिनीधी सभा निर्वाचनको लागि एकल उम्मेदवार सिफारिस गरेको छ । एकल सिफारिसमा पर्नेहरुमा पार्टीका नेताहरु युगिन र सोनाम रहेका छन् ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को लागि पार्टी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज समिर श्रेष्ठ‘युगिन’ सिफारिसमा परेका छन् ।
त्यस्तै २ नम्बर निर्वाचन क्षेत्रको लागि सोनाम लामा ‘सोनाम’ सिफरिसमा परेका हुन् । २७ गते सम्पन्न जिल्ला समितिको बैठकको निर्णयले उनीहरुको एकल नाम सिफरिस गरि पार्टी केन्द्रमा पठाइएको माओवादी सिन्धुपाल्चोकले जनाएको छ ।
उनीहरुले नेत्र विक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमा बिगतमा अर्धभुमिगत रुपमा जिल्लाको नेतृत्व सम्हाल्दै आईरहेका थिए ।
अघिल्लो महिनामात्र नेपाल कम्युनिष्ट पार्टी(माओवादी) राजनीतिक दल र रातो गुलाफको फुल चुनाव चिन्ह लिएर निर्वाचन आयोगमा दल दर्ता गरेका थिए ।
विगतमा संसदिय व्यवस्थाको विरोध गर्दै आएको पार्टी आगामी निर्वाचनमा सामेल भई जनमत लिने बाटोमा अघि बढेको छ । यो उनीहरुले जनमत लिने अवसरको रुपमा लिएका छन् ।

