सिन्धु एमालेमा स्पष्ट गुटको पहिलो संकेत बाह्रबिसेमा, समानान्तर नगर कमिटीको आ–आफ्नै दावी
भदौ १९, बाह्रबिसे । पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिए भएसंगै एमालेभित्र केन्द्रमा राजनैतिक तरंग फैलिएकै बेला सिन्धुपाल्चोक एमालेमा दुई गुट प्रष्ट देखिएको छ । सिन्धु एमालेमा स्पष्ट गुटको पहिलो संकेत बाह्रबिसे नगरमा समानान्तर कमिटी बनाइएपछि खुलेको छ । सोमबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो ।

जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको नेतृत्वमा एउटा कमिटी बनाइएको छ भने उता उपाध्यक्ष अर्जुन भण्डारीसहितका पदाधिकारीको भेलाले माधव नेपालको नेतृत्वमा अर्को समिति घोषणा गरेको छ ।
वाग्मती प्रदेशका इञ्चार्ज राजन भट्टराईले ५ महिनाअघि बाह्रबिसे नगर अधिवेशनको उदघाटन गरेपनि संगठित सदस्य विवादले बन्द सत्र सुरू हुन सकेको थिएन ।

सोमबार जिल्ला इञ्चार्ज सरेश नेपाल र जिल्ला अध्यक्ष श्रेष्ठ लगाएत नेताहरुको उपस्थितिमा भएको भएको अधिवेशनले तामाङको नेतृत्वमा उपाध्यक्ष कल्याणी घिसीङ, सचिव शीतल मोक्तानसहित ४१ सदस्यीय नगर कमिटि गठन भएको घोषणा गरिएको छ । पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित २ नम्बर वडाका पूर्व अध्यक्ष बमबहादुरलाई नेता निमफुञ्जो शेर्पाले एमालेमा भित्र्याएका थिए ।
आफु वाग्मति प्रदेशबाट खटाईएको नगर ईन्चार्ज हुँदाहुँदै सल्लाह नै नगरी नगरकमिटि बनाइएको भन्दै वाग्मति प्रदेश कमिटिका सदस्य एवं बाह्रविसेका इञ्चार्ज शेर्पासहित, जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ र उपसचिवद्धय शिवहरी सापकोटा र सुशिला पाख्रिनसमेतको उपस्थितिमा अर्को पक्षको भेला भएको थियो ।
उपाध्यक्ष अर्जुन भण्डारीसहितको अर्को बन्द सत्रबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष विक्रम श्रेष्ठ, सचिव ङिमा शेर्पा, उप–सचिवहरु आशिष दाहाल र बिनु तामाङसहित ३९ सदस्य कमिटी घोषणा गरिएको छ ।
बाह्रबिसे नगरककिमिटिका एक सदस्यले दिएको जानकारी अनुसार नेपाललाई अध्यक्ष बनाइएको भेलामा जिल्लाका बहुमत पदाधिकारी उपस्थिति छ । उसो त नगरभित्रका सबै वडा कमिटीका अध्यक्ष आएको र बैठकबाटै प्रतिनिधि छनोट गरेर ल्याइएको शेर्पाको दावी छ ।
नगरकटिका ति सदस्यका अनुसार सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन सम्ममा बाह्रविसेको संगठित सदस्यको संख्या ७६६ थियो । तर, अधिवेशनपछि सदस्य संख्या एकैपटक १३ सय बढी पुगेपछि यहाँ विवाद बढेको उनले बताए । प्रदेशबाट खटाईएको नगर इन्चार्ज निमाफुञ्जो शेर्पा हुनु र जिल्ला पार्टीको बहुमत पदाधिकारी सदस्य सम्मिलित भएर नेपालको नेतृत्वमा बनाईएको कमिटि आधारिक भएको एमालेका कार्यकर्ता सुरेश श्रेष्ठको दावी छ ।
समान्तर अर्को कमिटि बनाईएपनि तामाङकै नेतृत्वमा बनाईएको नगरकमिटि आधिकारिक भएको जिल्ला अध्यक्ष श्रेष्ठको दावी छ । ‘केही भ्रममा साथीहरु हुनुहुन्छ, उहाँहरुमा रहेको भ्रम चिरेपछि समस्या समाधान हुन्छ, यहि कमिटिले वैधानिकता पाउँछँ’, अध्यक्ष श्रेष्ठले भने । सदस्यता सम्बन्धी विवाद आएपछि त्यसलाई छानविन गरेर टुङग्याउन आफूले सिन्धुपाल्चोक पार्टी जिल्ला कमिटिलाई सल्लाह दिएपनि सोही अनुसार हुन नसक्दा बाह्रबिसेमा दुई समान्तर कमिटि बन्ने अवस्था आएको पार्टी पोलिव्यूरो सदस्य अरुण नेपाल बताउँछन् । सदस्यता विवादलाई टुङगाएपछि कमिटि गठनमा हल हुने उनको भनाई छ ।
बाह्रबिसे गठन पार्टीको आन्तरिक विवादका कारण भनिएपनि केन्द्रको राजनीति प्रभाव केही देखिएको हुनसक्ने राजनैतिक जानकार एवं पत्रकार विमल नेपालको ठम्याई छ । पार्टी स्रोतका अनुसार सिन्धुपाल्चोकमा अधिकांश जिल्ला नेताहरु पछिल्लोपटक विद्या भण्डारी लाईनमा देखिएका छन् ।

