सिन्धु चेली गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि
भदाै १६, चाैतारा । सिन्धुपाल्चोककी चेली गंगा साेनामले नेपाल आइडल सिजन-६ उपाधि जित्न सफल भएकी छिन ।
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधिकाे लागि आइतबार भएकाे प्रतिश्पर्धामा गंगाले जित हाँसिल गरेकी हुन ।

इन्द्रावती गाउँपालिका-१० बडहरेमा अति विपन्न दलित परिवारमा जन्मिएकी गंगाले ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि ताज पहिरिएकी हुन्। योसँगै नेपाल आइडल विजेता बन्ने दोस्रो महिला गंगा बनेकी छन्। यसअघि सिजन ३ मा आइडलले पहिलो महिला विजेता सज्जा चौलागाईंले पाएकी थिइन ।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।

फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर (काठमाडौं) प्रतिस्पर्धामा थिए।
यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए।
उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।

यस सिजनमा अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।
नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई एपीवान टेलिभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ प्रसारण गरिएको थियो। यसअघि नेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गतवर्ष करण परियार विजेता बनेका थिए। गंगालाई सिन्धुपाल्चोकका सबै राजनैतिक दलका नेता तथा कार्यकर्ता, सांसद र इन्द्रावती गाउँपालिकाले भाेटिङमा भारी मत सहित हाैसला प्रदान गरिएकाे थियाे ।

