जिससलाई टेरेनन् स्थानीय तहले, दुई पालिका अनुपस्थित, अधिकांश सामन्य कर्मचारीको प्रतिनिधित्व
दिनेश दुलाल
भदौ १६, चौतारा । नेपालको संविधान २०७२ को धारा २२० उपधारा (७) मा जिल्ला सभाको काम कर्तव्य र अधिकार सन्दर्भमा स्पष्टसाथ किटान गरि उल्लेख गरिएको छ– ‘जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी काममा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्ला रहने संघीय र प्रदेश सरकारी कार्यालय, गाउँपालिका र नगरपालिका बिच समन्वय गर्ने र प्रदेश कानुन बमोजिमका अन्य कार्य गर्ने ।’

संघीय भावना अनुसार जिल्ला समन्वय समितिको कार्यकारी अधिकार नरहेपनि अभिभावकत्व र दायित्व भने जिल्लाको सबैभन्दा माथि रहेको छ । तर जिल्लामा त्यसको कार्यान्वयन भने पटक्कै भएको देखिदैन । यसको ज्वलन्त उहाहरण हो जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आइतबार र सोमबार गरेको बार्षिक समिक्षा कार्यक्रम ।

समन्वयले आयोजना गरेको २०८१÷०८२ को बार्षिक समिक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान गोष्टि कार्यक्रममा स्थानीय तहका जनप्रतिनिध नै अनुपस्थित रहेको पाइएको छ ।

१२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा ४ वटा पालिका जनप्रतिनिधि मात्र सहभागि भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला समन्वय समितिका अनुसार कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा सहभागि थिए ।

त्यस्तै मेलम्ची नगरपालिकाका उपप्रमुख उपा प्रधान सहभागि थिईन । वार्षिक समिक्षाको प्रस्तुती ५ वटा पालिकाका प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए भने ५ वटा पालिकाका सामन्य कर्मचारीले गरेका थिए । समिक्षा कार्यक्रममा बाह्रबिसे नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका भने शून्य उपस्थिति रहेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिए । वार्षिक समिक्षा जस्तो महत्वपूर्ण कार्यक्रममा पालिका प्रमुखहरुको कम उपस्थिति हुनु जिल्ला समन्वय समिति सिन्धुपाल्चोकलाई स्थानीय तहले नटेरेको उनले प्रतिक्रिया दिए । उसोत शून्य उपस्थित रहेका पालिकाको समेत संघमा पठाउने प्रतिवेदनमा अनुपस्थित रहेको भनेर विवरण पठाउने उनले बताए ।
जिल्ला भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउनको लागि बर्षको कम्तिमा एकपटक बार्षिक समिक्षाको आयोजना गरी सो जिल्लाबाट संघीय संसद र प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसद सदस्यलाई आमन्त्रण गरी सुझाब अनिवार्य दिनुपर्ने उल्लेख छ । तर स्थानीय तहका जनप्रतिनिधिहरुको नगन्य उपस्थितिले जिल्ला समन्वयलाई झन कमजोर बनाएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए । संघीय सांसद प्रमुख अतिथि रहेको वार्षिक समिक्षा कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष कम उपस्थिति हुनु सोचनीय विषय भएको उनले प्रतिक्रिया दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जिल्ला समन्वय समितिले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा अन्य जिल्लाको तुलनामा विषय बस्तु माथिको गहन छलफल र सहभागिता निकै कम रहेको बताए ।
नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष ध्रुव दंगाललले जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु सबै सहभागि नहुनु गैरजिम्मेवारीपन भएको बताए । स्थानीय तहका जनप्रतिनिधिहरु उत्तरदायी र जवाफेही हुनुपर्ने तर्क राखे ।
अघिल्लो दिन ९ पालिका र एक विषयगत कार्यालयले आफ्नो प्रस्तुती दिएका थिए भने दोस्रो दिन ८ वटा विषयगत कार्यालय र एक स्थानीय तहले वार्षिक समिक्षा प्रस्तुती गरेका थिए ।
वार्षिक समिक्षा कार्यक्रमको पहिलो दिन प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का संघीय सांसद माधव सापकोटा ‘सुवोध’ ले उदघाटन गरिएपनि उनी २ मिनेट सम्बोधन गरेर बाहिरिएका थिए । महत्वपूर्ण कार्यक्रममा स्थानीय तहका सबै जनप्रतिनिधि सहभागि नहुनु तथा प्रमुख अतिथिले समेत पुरा समय नरहनुले कार्यक्रम निकै फितलो र कर्मकाण्डी भएको एक सहभागिले बताए ।

