हेलम्बुमा अर्गानिक स्याउको उत्पादन बढ्दै, कृषकहरु बजार खोज्दै
दिनेश दुलाल
साउन २१, किउल । हेलम्बु गाउँपालिका वौद्विक धर्मालम्बीहरुको पवित्र क्षेत्र हो । यहाँ मुख्यगरी उच्च हिमाली भागमा बसोबास गर्ने ह्योल्मो (शेर्पा) जातिको बसोबास रहेको र मुख्य पेशा होमस्टे सञ्चालन रहेको पाईन्छ । यस अन्र्तगत आफ्नो निजी जग्गाहरुमा आलु, मुला र फलफूलमा स्याउ उत्पादन गर्दै आएका छन् ।


चारदशक अघि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु स्याउको रुपमा निकै चर्चामा थियो । ‘हेलम्बुको स्याउ’ नेपालमा मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको थियो । यहि पेशालाई प्रमोट गर्नको लागि हेलम्बुको शेर्माथाङमा स्याउको वागबानी पनि स्थापना भएको थियो । तर विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । यहाँको स्याउ उत्पादन घट्दै जाने र वोटहरु रोगाएर मर्ने भएपछि स्याउ उत्पादनमा गिरावट आउँदा कृषकहरु निराश थिए ।

नेपालमा संघीयता आएपछि स्थानीय सरकारको निर्वाचन पश्चात पालिका अध्यक्ष निमा ग्याल्जेनको योजना अनुसार विभिन्न शाखाका प्राविधिकहरुलाई निर्देशन दिई तत्काल स्याउको विज्ञहरु केन्द्रबाट झिकाएर अनुसन्धान गर्ने काम भयो । अनुसन्धानको निचोड विश्वव्यापी असर जलवायु परिवर्तनको नकरात्मक प्रभाव भन्ने विज्ञहरुको सुझाब पछि पालिका अध्यक्षको पहलमा स्याउको लागि हावापानी मिल्दो क्षेत्र छनौट गरियो । वडा नम्बर ४÷५ को लेकाली क्षेत्रमा रहेका कृषकलाई व्यवसायिक रुपमा स्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदान नीति गाउँपालिकाले ल्यायो । बल्ल अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन हेलम्बु गाउँपालिकाको योजना र पहलमा स्थानीय युवाहरू जुटेका छन् ।

गाउँपालिकाले स्याउ उत्पादन गर्ने किसानहरूलाई विशेष सहुलियत दिने र हेलम्बुलाई स्याउको गाउँ बनाउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् । सञ्जिवनी सप्लायर्सबाट बिरुवा ल्याएर परीक्षण गरिएकोमा राम्रो उत्पादन भएका कारण अब अन्य ठाउँमा पनि लगाइने उनले बताए ।
उनका अनुसार स्थानीय सरकार गठन भएको पहिलो बर्षमै स्याउ लगाउने इच्छुक कृषकहरुकाे निवेदन संकलन गरिएको थियो । जसअनुसार बिरजित तामाङले ११३३ वटा स्याउका विरुवाहरु कृषि प्राविधिकहरुको निगरानीमा आ.व २०७७÷०७८ को कृषि विकास शाखाबाट स्विकृत गरी अनुदानमा पाए । हाल उक्त स्याउ फार्महरुमा गोल्डेन, डेलिसियस, फुजी स्याउ र रायल गाला स्याउ फल्न थालेको छ ।
आव २०७७ ÷०७८ मा बीरजितलाई पालिकाले ५० प्रतिशत अनुदानमा दिएपछि उक्त विरुवा करिव ७० रोपनि जग्गामा लगाएका थिए । यस वर्ष लगभग १ मेट्रिक टन उत्पादनको आकलन गरिएको कृषक तामाङले बताए । स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको कृषक तामाङले बताए । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । ‘गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ,’ तामाङले भने, ‘सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छौँ ।’ त्यस्तै स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले सुनाए ।
हेलम्बु गाउँपालिकाभरी यसबर्ष ३ मेट्रिक टन स्याउ उत्पादन हुने अपेक्षा गरिएको हेलम्बु गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले जानकारी दिए ।
उनका अनुसार हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ । हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, शेर्माथान, इचोक लगाएत हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए । तर अहिले बजारीकरणको लागि व्यापारी र किसानलाई जोडिदिन हेलम्बु गाउँपालिकाले पहल गरिएको जनाएको छ ।
स्मरण रहोस पर्यटकीय क्षेत्र हेलम्बुमा स्याउ उत्पादनसंगै यहाँको ग्रेटट्रेल निकै चर्चामा छ । नेपालकै पहिलो, विश्वकै दोस्रो ठूलो र लामो ग्रेटट्रेल हेलम्बुमा निर्माणको क्रममा छ । त्यस्तै यहाँको मोडल विद्यालय तथा जनतामा स्वास्थ्य सेवाले निकै चर्चा कमाएको छ । स्याउ उत्पादन संगै स्याउ खान तथा ग्रेटट्रेल लगाएत पर्यटकीय स्थलहरु घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु ह्वात्तै बढ्ने गाउँपालिकाकाे आंकलन छ ।

