पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा नेपाल विद्युत प्राधिकरणलाई ध्यानकर्षण
साउन १५ (२०८२), काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेर्शक हितेन्द्र शाक्यलाई ध्यानकर्षणपत्र बुझाएको छ ।

गाउँपालिकामा हाल भईरहेको विद्युतीय समस्याको दीर्घकालिन समाधानको लागि पूर्व मन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य समक्षं गम्भीर रूपमा ध्यानाकर्षण पत्र सहित निवेदन पेश गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनका अनुसार पालिकाले पेश गरेको ध्यानकर्षणपत्रमा मेलम्चीमा थप सबस्टेसन निर्माण गर्नुपर्ने, तिपिनी क्षेत्रमा रहेको स्टेसन तत्काल छिटो मर्मत गर्नुपर्ने, गाउँपालिका भरि पूर्णरुपमा नाङ्गो तार विस्थापित गरी केवल तारको व्यवस्थापन गर्नुपर्ने, पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरीसम्म विद्युत लाइन विस्तार गर्नुपर्ने, थप फ्युज सेन्टर समेतको व्यवस्थापन गरी दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने उल्लेख छ ।

उक्त ध्यनकर्षण बुझाउने कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे, गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी, प्रदेश कमिटी सदस्य हस्त पण्डित, बालकृष्ण देउजा, जिल्ला कमिटीका सचिव कमरेड कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका वडाध्यक्ष सहभागी थिए । ज्ञापनपत्र बुझेसंगै कार्यकारी निर्देशक शाक्यले उक्त समस्यालाई समाधान गरिने प्रतिवद्धता जनाएको पालिका अध्यक्ष टासी लामाले प्रक्रिया दिए । ध्यानकअर्षण आज (बिहिबार) नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पुगेर बुझाईएको हो ।

