भोटेकोशी बाढीमा ८ शव फेला, केही चिनियाँ नागरिकसहित कम्तीमा २० जना अझै बेपत्ता

२५ असार, २०८२
काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित रसुवा जिल्लामा ल्हेन्दे खोलामा अकस्मात् आएको बाढीका कारण हराएका मध्ये ८ व्यक्तिको शव फेला परेको छ । बाढीमा चिनियाँ नागरिकहित अझै कम्तीमा २० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीले दुई देश जोड्ने मितेरीपुल बगाएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटो पनि बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण पुगेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

नेपालको नेपालको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी अविरल वर्षासँग नभई हिमताल विस्फोटसँग सम्बन्धित हुन सक्ने सङ्केत गरेको छ ।

यसैबीच वेपत्ता भएका मध्य प्रहरी सायक निरिक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलो स्थित नारायणी नदिमा फेला परेको त्याहाँका स्थानीयले बताएका छन् । यद्यपि उक्त घटनाको आधिकारीक रुपमा भने पुष्टी हुन बाँकी छ ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत चीनमा वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन आग्रह गरेको भन्दै भोटेकोशी, सुनकोशी तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन सूचना जारी गरेको छ । चीनसंग जोडिएको उत्तरी तातोपानी नाका यस अघि भोटेकोशी बाढीबाट निकै क्षति पु¥याएको क्षेत्र हो ।