नेपाली सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी सिन्धुपाल्चोकमा पूर्वाभ्यास

दिनेश दुलाल
जेष्ठ २१, मेलम्ची । नेपाली सेनाले सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ । मेलम्ची स्थित श्री ईन्द्रध्वज गणको आयोजनाा तथा युएसएआईडी, युसिएर र एक्सन लगाएत संस्थाहरुको सहकारर्यमा सोमबार मेलम्ची नगरपालिका–११ सातबिसेमा समुदायमा आधारित बाढी तथा पहिरोको कृतिम घटना अभ्यास मनसुन–४ सम्पन्न गरिएको हो ।

विपद् व्यवस्थापनसम्बन्धी सम्भावित बाढी, पहिरो, खोज तथा उद्धार सम्बन्धमा सेनाले पूर्वाभ्यास गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, मेलम्ची नगरपालिका, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय, सशस्त्रप्रहरी बल, विभिन्न संघसंस्थाहरुको सहभागितामा बाढी पहिरोको परिकल्पना गरी उक्त प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना ईन्द्रध्वज गणले जनाएको छ ।

अभ्यास पछि आयोजित औपचारिक कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले बाढीपहिरोले अक्रान्त बनाएको मेलम्ची क्षेत्रलाई सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण तथा उद्वार राहतमा नेपाली सेनाको विगतमा अतुलनीय भूमिका रहेको भन्दै पूर्व अभ्यास प्रतिकार्यको खुलेर प्रशंसा गरे । मेलम्ची नगरपालिकाले समेत सम्भावित विपद जोखिम न्युनकरणका उपायहरु तथा उद्वार तथा राहतका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । कार्यक्रममा सिन्धुपाल्चोकका सायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले समुदायमा आधारित त्यस खालको अभ्यास प्रभावकारी हुने ठोकुवा गरे । सम्भावित प्राकृतिक प्रकोप सम्बन्धी समुदायमा जनचेतना अभिवृद्वि गर्नाले जोखिमबाट बच्न सकिने तर्क राखे ।

ईन्द्रध्वज गणका गणपति प्रमुख सेनानी अनिश कुमार बस्नेतले हरेक वर्ष वर्षायामको समयमा सिन्धुपाल्चोकको मेलम्ची तथा ईन्द्रावती नदिमा आउने बाढी र पहिरोमा कारण ठुलो मात्रामा मानवीय एवम् भौतिक क्षति हुने गरेको हुनाले सम्भावित जोखिमबाट नागरिकलाई बचाउनका लागि पूर्वाभ्यास गरिएको बताए ।

नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धारसम्बन्धी अभ्यास गरेको हो । सेनासँगै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू र रेडक्रसका व्यक्तिहरूले कृत्रिम घटना अभ्यास गरेका थिए ।
मेलम्ची तथा ईन्द्रावती नदिमा बाढी र पहिरो आएको परिकल्पना गरी त्याहाँ फसेका स्थानीयको खोज तथा उद्धार, उपचार र राहतका क्रियाकलाप गरिएका थिए । मनसुन पूर्वको तयारी र जिल्ला विपद प्रतिकार्यसम्बन्धी बनेका योजनाहरूको कार्यान्वयन गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ ।

यसका साथै विपदका बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको थियो ।
मनसुनजन्य विपदहरुको प्रभावकारी प्रतिकार्य गरी धनजनको क्षतिलाई न्यूनीकरण गर्न अभ्यास सञ्चालन गरिएको सेनानी बस्नेतले बताए । वर्षायामको समयमा बाढी डुवान एवं पहिरोजस्ता प्राकृतिक विपदबाट हुनसक्ने क्षतिलाई मध्यनगर गरी प्रभावितलाई तत्काल उद्धार र राहतका लागि अभ्यासले मद्दत पुग्ने उनको ठम्याई छ ।

साथै जिल्लामा एकीकृत रुपमा रुपमा परिचालित हुने उद्धार कार्यको लागि चाहिने श्रोतसाधनहरुको प्रभावकारीता परीक्षण गरी तयारी अवस्थामा राख्ने, विपदको सम्भावित क्षतिलाई न्यून गर्न फौज सामग्री तथा महत्वपूर्ण यन्त्रहरुको सुरक्षासम्वन्धि कार्ययोजनालाई सापेक्षित ढंगबाट पुनरावलोकन गर्न, विपद व्यवस्थापनसंग आवद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग संयुक्त अभ्यासमार्फत समन्वय गरि सहयोग र सम्बन्ध बिस्तार गर्ने उद्देश्य रहेको जनाइएको छ ।
बाढीमा फसेका युवा, घाँसदाउरा गर्न गएका महिला लगाएतको उद्वारको अभ्यास गरिएका थियो । कार्यक्रममा स्काउटका बालबालिकाहरुको समेत सहभागिता रहेको थियो ।