निजी क्षेत्रको सहभागितामा लगानी पब्लिक लिमिटेड कम्पनी स्थापना गर्दैछौं–चन्द्रप्रसाद ढकाल

दिनेश दुलाल
चैत्र २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य माहासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा निजी क्षेत्रको सहभागितामा लगानी पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न लागेको जानकारी दिएका छन् । सोमबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको काठमाडौंमा आयोजित पदभार ग्रहण तथा नयाँ कार्यसमितिलाई सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरु बीच यस्तो धारणा राखेका हुन् ।

पछिल्लो पटक देशमा बैंकमा पर्याप्त तरलता र न्यून ब्याजदर रहँदा पनि कर्जा प्रवाह बढ्न नसकिरहेका बेला लगानी विस्तारमा उत्साह बढाउन निजी क्षेत्रकै पहलमा लगानी कम्पनी स्थापना हुन लागेको उनले बताए । अधिकृत पुँजी १० अर्ब रहेको उक्त कम्पनी महासंघको पहलमा स्थापना हुन लागे पनि सबै संघसंस्थामा आबद्ध तथा कुनै संस्थामा पनि आबद्ध नभएका उद्योगी व्यवसायीको पनि सहभागिता रहने उनको भनाई छ । ‘महासंघले पहल गरे पनि त्यो कम्पनी हाम्रो मात्र हुने छैन’, ढकालले भने– ‘कम्पनीमा मुलुकभरका उद्योगी व्यवसायी र गैरआवासीय लगानीकर्ताले लगानी गर्न सक्नेछन ।’ त्यस्तो खालको कम्पनी व्यावसायिक सञ्चालक समिति र व्यवस्थापनद्वारा सञ्चालन हुने उनले जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार केन्द्रमा स्थापना हुने मुख्य कम्पनी पब्लिक लिमिटेड हुने र त्यसकै सहायक कम्पनीका रूपमा हरेक प्रदेशमा एक÷एकवटा सहायक (सब्सिडियरी) कम्पनी स्थापना गरिनेछ । यो कम्पनीको लगानी मुलुकभर कृषि उत्पादन तथा प्रशोधन, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा मात्र हुनेछ ।

महासंघको वार्षिकोत्सवका अवसरमा चैत २८ मा सबै राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरूलाई एकै ठाउँमा भेला गराएर आर्थिक एजेन्डामा प्रतिबद्धता व्यक्त गर्न लगाउने समेत उनले जानकारी दिए ।
सरकारले वैशाखमा गर्न लागेको तेस्रो लगानी सम्मेलनमा माहासंघले निजी क्षेत्रको भूमिका सम्मेलनलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन कुनै कसर बाँकी नराख्ने उनले जनाए ।

मुलुकमा बढ्दो रेमिट्यान्स, घट्दो आयात र पर्यटनमा देखिएको सुधारले विदेशी मुद्रा सञ्चितिले कीर्तिमान बनाएको भएपनि अर्थतन्त्रको शिथिलता कायमै रहेको र बैंकमा करिब साढे ६ खर्ब रुपैयाँ थुप्रिएको उनले बताए ।

महासंघले मुख्य पाँच विषयवस्तु अघि सारेको बताउँदै तत्कालीन आर्थिक संकटबाट अर्थतन्त्रलाई कसरी निकास दिने, लगानीमैत्री वातावरण कसरी बनाउने, सरकार र निजी क्षेत्रबीच आरोप, प्रत्यारोपको सट्टा सुमधुर सम्बन्ध कसरी बनाउने, स्वदेशमै दक्ष जनशक्ति कसरी उत्पादन गर्ने र निजी क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा कसरी सुधार ल्याउने भन्ने विषय रहेको उनले बताए ।

अर्थतन्त्र सुधारको बाटोमा रहेको र सबै विषय बिस्तारै लयमै फर्काउन सकिन्छ भन्ने आशा आम सर्वसाधारणलाई देखाउन पनि माहासंघले यो खालको अवधारणा अघि सारेको उनको भनाई छ । अर्थतन्त्र चलायमान बन्न नसकेको अवस्थामा नागरिकको आत्मविश्वास खस्केको अवस्थालाई आत्मविश्वास बढाउनु नै अहिलेको प्रमुख चुनौती रहेको उनले बताए ।

सम्बोधनकै क्रममा अध्यक्ष ढकालले तातोपानी नाका खोल्न सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघले गरेको प्रयात्न निकै सह्रानीय रहेको बताउँदै नाकालाई थप सुधार र व्यवस्थित खाँचो रहेको औंल्याए । संघको ११ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई बधाई दिंदै अध्यक्ष ढकालले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई आफूले सक्दो सहयोग गर्ने बचन समेत दिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ३ बर्षमा गरेका उपलब्धीहरुको फेहरिस्त सुनाएका थिए । ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष बुद्वराज बस्नेतले आफूले दलगत नभई सबै उद्योगी, व्यवसायी तथा व्यापारीहरुको हितमा काम गर्ने प्रतिवद्वता जनाए । सोमबार दिउसो गंगबु स्थित बिजी बैंङक्वेटमा गरिएको उक्त कार्यक्रममा नयाँ कार्यसमितिलाई सपथ खुवाएसंगै निवर्तमा अध्यक्षले वर्तमान नवनिर्वाचित अध्यक्षलाई माईन्युट हस्तान्तरण गरेका थिए ।