
२० औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस सिन्धुपाल्चोकमा विविध कार्यक्रम गरी मनाईयो

१९ मंसिर, लिसंखुपाखर । २० औ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस सिन्धुपाल्चोकका स्थानीय तहहरुमा विविध कार्यक्रम गरी मनाईएको छ ।
लिसंखुपाखर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठूदेवी लामा लगाएतको उपस्थितिमा भएको हो । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको उपालक्ष्यमा शुभकामना आदान प्रदान गर्नुको साथै ५४ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान समेटेर ६ समुहबीच हाजिर जवाफ प्रतियोगिता गरी प्रथम, द्वितीय र तृतीयलाई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले सम्मान गरेका थिए । साथै उनीहरुलाई नगद ५ हजार प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सागर खड्काले जानकारी दिए ।
यसैबीच चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको कार्यक्रममा नगर उप प्रमुख सीता थापा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी, शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, सामजिक विकास समितीका संयोजक रामप्रसाद गौतम, स्वास्थ्य शाखाका कर्मचारी र नगरपालिका भित्रका महिला स्वास्थ स्वयमसेविका हरुको उपस्थिती रहेको थियो ।
त्यस्तै मेलम्ची नगरपालिका तथा सुनकोशी गाउँपालिकाले समेत २० औ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस विविध कार्यक्रम गरी मनाएको छ ।