ठूलोसिरुवारी खेलकुद महोत्सव सम्पन्न, खेलाडीको पर्दशन देखेर मेयर दंग

दिनेश दुलाल
कार्तिक २७, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीमा भएको खेलकुद महोत्सव सम्पन्न भएको छ ।
वडा स्तरीय खेलकुद विकास समितको आयोजनामा हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा २६ गते सुरुवात भएको खेलकुद महोत्सव सोमबार अर्थात लक्ष्मी पूजाको दिन सम्पन्न भएको हो ।

उक्त महोत्सवकोे समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरुको उत्साहजनक प्रर्दशनले आफू समेत उत्साहित भएको बताए । १३ नम्बर वडा ठूलोसिरुवारीले गरेको खेल क्षेत्रको विकासले नगरकै शान बढाएकै भन्दै खुलेर प्रशंसा गरे । ठूलोसिरुवारीले राष्ट्रिय स्तरमा मात्रै नभई एशिया स्तरमै आफ्नो प्रस्तुती दिन सक्ने खेलाडी उत्पादन गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले त्यस्ता खेलाडीलाई सम्पतिको रुपमा लिई नगरले संरक्षण र विकास गरिने प्रतिवद्वता जनाए । ‘खेल क्षेत्रमा तिब्र विकासमा रहेको यो वडाको खेलकुद पूर्वाधार निर्माण गर्न मेरो पहिलो प्राथमिकता हुनेछ’, मेयर सापकोटाले भने ।

कार्यक्रमका विशेष अतिथि नगरकी उपमेयर सीता थापाले खेल क्षेत्रले मात्रै समाज विकासको अन्य सूचक पुरा हुने भन्दै त्यस क्षेत्रको संरक्षण र विकास नगरले जोड दिने बताईन । त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले खेल क्षेत्रको विकासमा नगरको मात्रै नभई जिल्लाकै नमुना वडा बनाउने उदघोष गरे । १३ नम्बर वडा ठूलोसिरुवारीको खेल क्षेत्रको विकासलाई नगरले स्वामित्व ग्रहण गरेर लगानी गर्न आग्रह गर्दै वडाअध्यक्ष गौतमले अधुरो रहेको खेल मैदान पुरा गर्न प्रदेश तथा केन्द्रमा आवश्यक बजेटको पहल गरिदिन मेयर सापकोटासंग माग गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका संयोजक सुरेश राना, पूर्व जनप्रतिनिधि ईन्द्रबहादुर नेपाल लगाएतले सम्वोधन गरेका थिए । तिहारकै उपलक्षमा वडाले सोही दिन चियापानको समेत आयोजना गरेपछि वडा स्तरीय राजनैतिक दलका प्रतिनिधि, लगाएत स्थानीय जनताको बाक्लो उपस्थितिमा रहेको थियो ।

नगर तथा वडा कार्यालयको आर्थिक सहयोगमा भएको उक्त प्रतियोगितामा विविध विधाहरुमा प्रतियोगीहरुलाई नगरप्रमुख सापकोटाले टर्फी सहित प्रमाणपत्र प्रदान गरेका थिए । विजेता खेलाडीहरुले नगद पुरस्कार प्रथमले १५०० र द्वितीयले १००० पाएका थिए ।
महोत्सवमा कँराते, फुटबल, भलिबल, सटफुट र ज्याब्लिङ थ्रो गरी ६ वटा खेल विधा भएको एशियन गेमका प्रशिक्षक तथा वडा खेलकुद विकास समितिका अध्यक्ष गंगाबहादुरले जानकारी दिए । उनका अनुसार दौड ३४, सटफुट तथा ज्याब्लिङ थ्रो ४७, भलिबल ४०, फुटबल ६० र कराते ४२ समेत गरेर जम्मा २ सय २३ जना खेलाडी सहभागी थिए ।

पहिलो दिनको खेलमा ३००० मिटर दौड प्रतियोगितामा केटा तर्फ रोजन श्रेष्ठले ८ मिनेट १४ सेकेन्डमा पार गरी प्रथम भएका छन् भने पेम्बा तामाङ ८ मिनेट २९ सेकेन्डमा पार गरी द्वितीय भएका थिए ।
त्यसैगरी केटी तर्फ कुण्डला माविकी अञ्जना दुलालले ११ मिनेट ३५ सेकेन्डमा ३००० मिटर पार गरी प्रथम भईन भने सेतीदेवी मावीकी अस्मिता श्रेष्ठले ११ मिनेट ४३ सेकेन्डमा पार गरी द्वितीय भईन ।

त्यस्तै भलिबलमा सेतीदेवी विद्यार्थी प्रथम र सेतीदेवी शिक्षक समुह द्वितीय भएको थियो । त्यसैगरी सटफुटमा केटातर्फ सुदिप गहतराज प्रथम भएका छन् भने दिलिप दुलाल द्वितीय भएका थिए । त्यस्तै केटी तर्फ मनिषा तामाङ प्रथम र सपना तामाङ द्वितिय भईन । त्यसैगरी ज्याब्लिङ थ्रो मा केटा तर्फ राजिव थापा प्रथम र सन्तोष श्रेष्ठ द्वितीय भए भने केटी तर्फ सपना तामाङ प्रथम, अस्मिता श्रेष्ठ द्वितीय भईन ।
त्यसैगरी दोस्रो दिनमा भलिबल, फुटबल, दौडमा १५०० मिटर ४०० मिटर र १०० मिटरको प्रतियोगिता र करातेको फाईनल खेल भएको हो । भलिबल खेलको फाईनलमा सेतीदेवी माविको शिक्षक र विद्यार्थी समुह भएको प्रतिश्पर्धामा विद्यार्थी समुहले जित हाँसिल गरेको हो ।
त्यसैगरी फुटबलमा साविक २ नम्बर वडालाई ३–१ हराउँदै ४ नम्बर वडाले जित हाँसिल गर्न सफल भएको थियो । समापन कार्यक्रम दिउसो ३ बजे सुरु भएर ५ बजे सम्पन्न भएको थियो ।