सरकारलाई चुनौति दिंदै निजी क्षेत्रको आफ्नै लगानीमा बसपार्क

दिनेश दुलाल
भदौ २४ (२०८०), लोकन्थली । पूर्व अरनिको यातायात प्रा.ली ले आफ्नै लगानीमा जडिबुटीमा बसपार्क निर्माण गरेको छ । बसपार्क नभएर सास्ती खेपीरहेका यात्रुहरुलाई सहज तुल्याउने हिसाबले प्रा.लीले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो । २०७२ सालको भूकम्प पछि नयाँ बसपार्क बाहेक पूर्व जाने यातायातको लागि बसपार्क छैन् ।

पूर्व अरनिको यातायात प्रालिले जडिबुटीमा निर्माण गरेको नयाँ बसपार्कमा यात्रुहरुका लागि निशुल्क शौचालय

विद्युत प्राधिकरणसँग जोडिएको पुरानो बसपार्क नभएका कारण जनताले विगत केही वर्षदेखि यो समस्या भोग्दै आइरहेका छन् । पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर बन्ने भएपछि केही वर्ष खुलामञ्चलाई बसपार्कका रुपमा प्रयोग गरियो । खुलामञ्च बसपार्क नै हुने भयो भनेर नागरिक अगुवाहरूले अकुपाइ गरेपछि सडकको छेउमै यात्रुबाहक सवारी साधन रोकेर चडाँउने र झराउने काम भइरहेको थियो । त्यो पनि काठमाडौं महानगरपालिकाले वैशाख १६ देखि खुलामञ्चमा सञ्चालित अस्थायी बसपार्क बन्द गराएपछि सर्वसाधारणलाई सास्ती खेप्दै आएका छन् ।

काठमाडौँ महानगरपालिकाले ३० वर्षसम्म व्यापारिक प्रयोजनका लागि निजी कम्पनीलाई भ्यु टावर निर्माणको अनुमति दिए पछि त्यहाँ भएको बसपार्क सारिएको थियो । बसपार्कमा भ्यु टावर बनाउने र बस टर्मिनल पनि सञ्चालन गर्ने उद्देश्यका साथ २०६८ असार २६ को नगर परिषद बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसा क्षेत्रफलको पुरानो बसपार्कमा बहुतलीय बहुउद्देश्यीय टावर निर्माण गर्ने निर्णय पारित गरेको थियो । लामो रुट तथा पश्चिम जाने बसहरुको लागि गंगबु नयाँ बसपार्क बनेपनि पूर्व जानेहरुका लागि अपाएक भएको भन्दै अरनिको यातायात प्रालीले जडिबुटीमा बस काउन्टर स्थापना गरेको थियो । त्यो पनि गत साल महानगरले सडक चौडा गरिने भन्दै भत्काईदिएपछि यात्रुहरुले झनै कष्ट भोगे । सोही समस्यालाई मध्यनजर गर्दै पूर्व अरनिको यातयात प्रालीले आफ्नै लगानीमा नयाँ बसपार्क बनाइएको अरनिको यातायात प्रा.लीका अध्यक्ष केदार क्षेत्री बताउँछन् ।

उनका अनुसार नवनिर्मित बसपार्कमा ६०० वटा गाडी आवतजावत गर्न मिल्छ । ३५ प्रतिशत जग्गाधनीको र ६५ प्रतिशत पूर्व अरनिको यातायात प्रा.लीको गरी कुल १० करोड लगानीमा निर्माणको अन्तिम चरणमा रहेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार १४ रोपनी क्षेत्रफल रहेको उक्त बसपार्कको लागि स्थानीय जग्गाधनीसंग प्रा.लीले ५ वर्षको लागि करार सम्झौता गरेको हो । सम्झौता अनुसार जग्गा धनीलाई प्रा.लीले मासिक ८ लाख भाडा दिनुपर्ने हुन्छ । केही दिनमा निर्माण सम्पन्न हुने उक्त बसपार्क भित्र निशुल्क शौचालय, टिकट काउन्टर, यात्रुप्रतिक्षालय तथा होटलहरुको व्यवस्था रहेको छ । दैनिक ६ हजार यात्रुहरुको लागि नीजि क्षेत्रबाट बनाईएको सार्वजनिक शौचालय त्यहि पनि निशुल्क हुनु नेपालकै पहिलो घटना भएको अध्यक्ष क्षेत्रीको दावी छ ।

सरकारले आफैंले बसपार्क बनाईदिनुपर्नेमा नीजि क्षेत्रबाट बनाईएको बसपार्कमा माहानगरले टिकट मात्रै काट्न दिने तर तर यात्रु नचडाउन उर्दि जारी गरिएपनि त्यो निर्देशन अवेज्ञा हुने क्षेत्री बताउँछन् । ‘माहामनगरले भनेको जस्तो सम्भव छैन, बसपार्क भएपछि भिड हुनु स्वभाविक छ, यदि यात्रु आवतजावतमा अवरोध गरे हामी प्रतिरोध गर्छौं’, क्षेत्रीले भने । उनका अनुसार महानगरले स्मार्ट सिटी बनाउन भन्दै त्यस किसिमको उर्दी जारी गरेको हो । अरनिको यातयात प्रालिले आफ्नै लगानीमा नयाँ बसपार्क बनाएपनि नाफा कमाउन नभई यात्रुहरुलाई सहज तथा सुरक्षित व्यवस्थापनको लागि निर्माण गरिएको उनको भनाई छ । ‘बसपार्कबाट धेरै शुल्क उठाएर नाफा कमाउने भन्ने हाम्रो उद्देश्य होईन’, क्षेत्रीले भने । बसपार्क भित्र अन्य संरचना बनी सकेर बसपार्कलाई कालोपत्रे काम सकिएसंगै औपचारिक कार्यक्रम साथ सञ्चालानमा ल्याईने अध्यक्ष क्षेत्रीले बताए । जडीबुटीमा नयाँ बसपार्क सञ्चालनमा आउने भएपछि सर्वसाधारण निकै खुशी देखिएका छन् । यो बसपार्कबाट दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा लगाएत पूर्व चल्ने एकदर्जन भन्दा बढी जिल्लाहरुलाई यात्रु सेवा हुनेछ ।