‘सर्भर डाउन’ ले सिन्धुपाल्चोकका स्थानीय तहमा रोकियो करोडौं भुक्तानी

दिनेश दुलाल
चौतारा ÷२५ असार (२०८०) । सर्भर डाउन समस्याका कारण बागमति प्रदेश सरकार अन्तर्गत सिन्धुपाल्चोकका ११ स्थानीय तहका योजनाको भुक्तानी रोकिएको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये लिसंखुपाखर बाहेक ११ पालिकामा यो समस्या देखिएको हो । जाँहा योजनाका करोडौं रकमको भुक्तानी होल्ड भएको छ ।

चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम समय असार २४ गते राती १२ बजे सम्मलाई तोकिएको हो । तर, २४ गते दिनभर ‘सर्भर डाउन’ भएपछि भुक्तानी रोकिएको सुनकोशी गाउँपालिका लेखा अधिकृत तारा निरौंलाले जानकारी दिए । आफ्नो पालिकाका कति योजनाको भुक्तानी हुन बाँकी रह्यो त्यसको विवरण एकिन हुन बाँकी रहेको उनले बताए । राती २ बजेसम्म भुक्तानीको लागि प्रयास गरेपनि सर्भर डाउनका कारण समस्या भएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी प्रसाद पुडासैनीले जानकारी दिए ।

जिल्लामा १२ पालिका मध्ये लिसंखुपाखर बाहेक ११ पालिकाका साना योजनाहरुको भुक्तानी रोकिएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुपाल्चोक कोष नियन्त्रक शम्भुप्रसाद पोखरेलले जानकारी दिए । ‘असार २४ गते रातिदेखि त सर्भर सिस्टम लक हुने र भुक्तानी बन्द हुने त संघीय नियमावलीको व्यवस्था छ, सोही अनुसार बन्द भएको हो’, कोष नियन्त्रक पोखरेलले भने । उनका अनुसार गत साल सोही नियमलाई मिचेर केही पालिकाले आफूखुशी योजनाहरुको चेक काटेर दिएपछि संघीय सरकारले रकम काटेर पठाएको थियो । यसपालि भने पालिकाले त्यसो गर्ने आँट गरेनन् । समयमै योजना फछ्र्यौत तथा भुक्तानी नगर्दा पालिकाहरुलाई समस्या आएको उनी बताउँछन् ।

संघ सरकारका कार्यालयहरूमा असार मसान्तसम्म भुक्तानी गर्न मिल्ने भए पनि प्रदेश र स्थानीय तहले असार २४ गतेभित्र भुक्तानी गर्नुपर्ने संघको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली ०७७ को प्रावधान छ । तर प्रदेशको कानुनमा भने असार मसान्तसम्मै भुक्तानी गर्न पाउने नियम छ ।

कोष नियन्त्रक पोखरेलले सर्भर नचलेको अवधि जति मात्रै खोलिदिने हो भने समस्या समाधान हुने बताए । ‘हामीले पनि पहल त गरिरहेका छौं, निर्णय आएको छैन,’ उनले भने ।

सर्भर डाउन भएका कारण कतिपय भूक्तानीहरू गर्न नपाएको विषयमा संघीय मन्त्रालयमा कुरा भइरहेको जिल्लाका केही सांसदहरु समेत लागी परेको स्रोतको भनाई छ । असार लागेपछि मात्रै काम सुरु गर्ने र अन्तिममा मात्रै भुक्तानी माग्ने परिपाटीले यो समस्या आएको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बताउँछन् । आफूले सतप्रतिशत काम सम्पन्न नभएका योजनाहरुलाई भुक्तानी नदिन आफू मातहातका कर्मचारीहरुलाई निर्देशन दिएको उनी बताउँछन् ।
यो पनि पढ्नुहोस

लिसंखुपाखर गाउँपालिकाद्वारा ८४ प्रतिशत वित्तीय प्रगति हाँसिल