अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माविलाई

माघ २६, तौथली । त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माविले हात पारेको छ ।

गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरुवात भएकोमा बिहिबार समापन भएको हो ।
रनिङ, रिले, भलिबल र कराते चारवटा विधा अन्तर्गत विभिन्न खेलकुदको आयोजना गरिएको उक्त प्रतियोगितामा घरेलु त्रिपुरासन्दरी माविले १२ स्वर्ण, ६ रजत र ७ कास्य सहित प्रथम भएको छ । त्यस्तै १० स्वर्ण, १६ रजत र १३ कास्य सहित कालिका मावि द्वितीय तथा ९ स्वर्ण २ रजत र ४ कास्य सहित कागेश्वरी मावि तृतीय भएको गाउँपालिका खेलकुद शाखाले जानकारी दिएको छ । पालिका खेलकुद शाखाका अनुसार उक्त प्रतियोगितामा मंगलदेवी माविले २ स्वर्ण, ८ रजत र १० कास्य पदक प्राप्त गरेको छ । यसैगरी राम माविले २ स्वर्ण, २ रजत र ८ कास्य प्राप्त गरेको छ भने बाघभैरब माविले १ स्वर्ण तथा महेन्द्र प्रताप माविले २ रजत र ४ कास्य पदक जितेको छ ।

पालिका खेलकुद विकास समितिका संयोजक लालबहादुर श्रेष्ठका अनुसार उक्त प्रतियोगिातमा पालिका भित्रका ७ वटा विद्यालयहरुबाट २ सय ५० खेलाडी सहभागी भएका थिए । बिहिबार सम्पन्न प्रतियोगितामा विजयी खेलाडीहरुलाई पालिका अध्यक्ष भक्तध्वज बोहाराले मेडल सहित नगर तथा प्रमाणपत्र प्रधान गरेका थिए ।

खेलकुद विकास समिति त्रिपुरा सुन्दरी गाउँपालिकाको आयोजनामा तौथलीमा भएको रनिङशिल्ड प्रतियोगिताको उदघाटन पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए ।