विशेषज्ञ सहितको जिल्लाकै पहिलो स्वास्थ्य शिविर भोटेकोशीमा, १ हजार ४७ ले लिए सेवा
दिनेश दुलाल
पौष ४, चाकु (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिका–५ आङथलीका ७७ वर्षीय दावा नर्वु शेर्पा लामो समय देखि हार्डजोर्नी तथा नशा समस्यका बिरामी थिए । उनलाई हिँडडुल गर्न त्यति सहज थिएन । तर चाकुमा स्वास्थ्य शिविर छ भन्ने थाहा पाएका वृद्व शेर्पाले स्वास्थ्य जाँच गराउने निधो गरेर दुई घण्टाको पैदल यात्रा लौरो टेकेरै चाकु बजार आईपुगे । भोटेकोशी गाउँपालिका–५ चाकु बजार स्थित मार्मिङ स्वास्थ्यचौकीमा राखिएको स्वास्थ्य शिविरमा उनले जाँच गराए ।
शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुले उनको सबै जाँच गरे । सोही अनुसारको औषधी उनले निशुल्क पाए । पहिलो पटक स्वास्थ्य सेवा लिएका शेर्पा निकै खुशी छन् । त्यस्तै भोटेकोशी गाउँपालिका–१ लिस्तीकी ६० वर्षीय लिलामायाँ प्रधान मुटु दुख्ने समस्याबाट ग्रसित थिईन । उनले संधैं औषधी किनेर खाने गरेकी थिईन । चाकुमा राखिएको स्वास्थ्य शिविरमा दुई घण्टा भन्दा बढी पैदल यात्रा गरेर आएकी लिलामायाले निशुल्क स्वास्थ्य जाँच तथा निशुल्क औषधी उपचार पाएपछि निकै खुशी भईन । ‘उपचार गर्न काठमाडौं पुग्नु पर्दथ्यो, औषधी पनि किन्न निकै गाह्रो थियो’, लिला मायाँले भनिन । लिला मायाँ र दावा नोर्वु जस्तै मंगलबार र बुधबार चाकुमा राखिएको स्वास्थ्य शिविरमा भोटेकोशीका संयौले निशुल्क सेवा तथा औषधी उपचार पाएका छन् ।
एकीकृत जनस्वास्थ्य अभियान तथा पोषण प्रर्वधन अभियान कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको उक्त शिविरमा दुईदिनमा गरी एक हजार ४७ ले सेवाको लिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बर्षको एकपटक भोगौलिक विकटता तथा स्वास्थ्यको पहुँच नभएका जिल्लाका कुना काप्चामा सञ्चालन गरिने कार्यक्रम अन्र्तगत चाकुमा मंगलबार र बुधबार स्वास्थ्य शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले सिन्धुज्वालालाई बताए । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा स्वास्थ्यर्मीहरुको खर्च, औषधी तथा उपकरण जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्था गरेको हो ।
स्वास्थ्य कार्यालयले गत साल जुगल गाउँपालिकाको गुम्बामा गरेकोमा यसपटक भोटोकोशी गाउँपालिकामा गरिएको हो । विशेषज्ञ सहितको जिल्लामै पहिलो स्वास्थ्य शिविर भोटेकोशीमा गरिएको जनस्वास्थ्य अधिकृत अधिकारीको दावी छ । उनका अनुसार सर्जन सहितको उक्त शिविर भिडियो एक्सरे समेत सेवा प्रदान गरिएको थियो । उक्त शिवरमा स्वास्थ्य जाँचका क्रममा जटिल रोगका बिरामीहरुलाई चौतारा लगाएत अन्यन्त्र अस्पतालमा समेत रिफर गरिएको उनले जानकारी दिए । चाकुमा भएको उक्त स्वास्थ्य शिविरमा जनप्रतिनिधि, पालिकाका कर्मचारी, विद्यालय तथा स्थानीयले समेत साथ सहयोग गरेका थिए । आवश्यकताको आधारमा विशेषज्ञ सहितको घुम्ति शिविर जिल्लाका ग्रामिण भेगहरमा गर्न अन्य पालिकासंग समन्वय गरेर गरिने समेत उनले जानकारी दिए ।
चाकुमा गरिएको स्वास्थ्य घुम्ति शिविर उपलब्धीमुलक भएको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेतले प्रतिक्रिया दिए । उनका अनुसार उक्त स्वास्थ्य शिविरको लागि भोटेकोशी गाउँपालिकाले खाने, बस्ने तथा यातायात लगाएतको व्यवस्थापन गरेको हो । जनातको उल्लेख्य मात्रमा सहभागिता गराउनु पालिकाको उपलब्धी भएको उनको भनाई छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रलाल श्रेष्ठले दिएको जानकारी अनुसार दुई दिन गरिएको स्वास्थ्य शिविरमा १ हजार ४७ ले सेवा लिएकोमा ४ गते ६ सय ५० र ३ गते ३ सय ९७ ले पाएका हुन् । १२ किसिमका स्वास्थ्य जाँच गरिएकोमा मंगलबार मेडिसिन ५८, बालरोग २१, स्त्रीरोग १९, सर्जरी ९, आर्युवेद ५३, दाँत ४०, आँखा ७३, भिडियो एक्सरे ३७, अक्युपञ्चर २२, ल्याव २९ र पाखुरा जाँच ३६ ले सेवा लिएका छन् । त्यसैगरी बुधबार गरिएको स्वास्थ्य जाँचमा मेडिसिन १ सय ७७, बालरोग ५३, स्त्रीरोग २९, सर्जरी ७, आर्युवेद ८७, दाँत ३९, आँखा ६७, भिडियो एक्सरे ५०, अक्युपञ्चर २६, ल्याव २० र पाखुरा जाँच ९५ ले सेवा लिएका छन् ।
शिविरको पहिलो दिनको औपचारिक उदघाटन तथा दोस्रो दिनको समापन कार्यक्रमका प्रमुख अतिथि भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर बस्नेत, सबै वडाका वडाअध्य तथा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनुप अधिकारी लगाएतको सहभागिता रहेको थियो ।