६७ औं प्रहरी दिवसको अवसरमा ९ प्रहरी सम्मानित
दिनेश दुलाल कार्तिक १, चौतारा । नेपाल प्रहरीले ६७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्वारा ९ प्रहरी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरि अमर प्रहरी परिवार तथा द्वन्द्वमा परी घाईते प्रहरीलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वेदनिधि खनालले दोसल्ला ओडाएर सम्मान गरेका थिए । सम्मानित हुने प्रहरीमा प्रहरी सायक निरिक्षक नवराज लामा रहेका छन् । काभ्रे धुलिखेल नगरपालिका–२ का लामा २०५७ सालमा राजकोट प्रहरी चौकीमा भएको भिडन्त हुँदा शक्त घाईते भएका थिए । यस्तै उल्लेखित कार्य गर्ने प्रहरीहरुमा प्रहरी निरिक्षक उत्तम सिंह भण्डारी, प्र सायक निरिक्षक अनिल खड्का र प्रविन श्रेष्ठ, प्रहरी हवल्दार दुर्गा बहादुर योन्जन, सुसिल चुहान, प्रहरी सहायक हबल्दार चुडामणी न्यौपाने, प्रहरी जवान निशान छुमी र प्रतिमा लामालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बेदनिधि खनालले ६७ औं प्रहरी दिवसको शुभकामना दिंदै प्रहरीले दिने सेवा मुस्कान सहितको भएपनि अपराधमा मुस्कान आवश्यक नपर्ने धारणा राखे । अपराध नियन्त्रणमा विकसित देशहरुले अबलम्बन गरेका प्रविधि प्रयोग गरेर मात्रै सम्भव भएको भन्दै सिसिटिभि लगाएत आधुनिकीकरणको प्रयोग आवश्यक रहेको धारणा राखे । समाज अनुसार प्रहरी बदलिने हुँदा प्रहरीलाई समाजले सहयोग गर्नुपर्ने उनले जोड दिए ।
नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरु, मृतक प्रहरीका परिवाजन, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान गरिनुका साथै आगन्तुकहरुले दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा माल्यार्पण पनि गरेका थिए ।
यसैबीच सोही दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयद्वारा आयोजना गरिएको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।