सिन्धुपाल्चोकमा ४ पालिकाको मत परिणाम सार्वजनिक, माओवादीकेन्द्र र एमाले दोस्रोको लागि प्रतिश्पर्धा

दिनेश दुलाल
जेठ ३, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय निर्वाचन सकिएसंगै सिन्धुपाल्चोकमा पत परिणाम आउने क्रम जारी छ । ३ नगरपालिका सहित १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा सोमबार राती सम्म बलेफी, बाह्रबिसे, भोटेकोशी र हेलम्बु गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मत परिणाम हेर्दा सिन्धुपाल्चोकमा नेपाली कांग्रेस पहिलो भएको छ । दोस्रोको लागि नेकपा(माओवादी केन्द्र) र एमालेको प्रतिश्पर्धा भईरहेको छ । ४ वटा पालिकाको मत परिणाम अनुसार बलेफी माओवादी केन्द्र तथा हेलम्बु, बाह्रबिसे र भोटेकोशी नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याङ्क अनुसार बलेफीमा मिश्रीत परिणाम आएको छ । जसअनुसार अध्यक्ष पदमा माओवादी समाजवादी गठबन्धनका उम्मेद्वार गंगाबहादुर तामाङ विजयी भएका छन भने उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भएकी छिन ।
गठबन्धनका अध्यक्ष उम्मेदवार तामाङले ४हजार ६ सय ६६ मत ल्याएर विजयी हुँदा गठबन्धनकै समाजवादीका उम्मेदवार ढालबहादुर थापाले २हजार ४ सय १८ मत ल्याएर तेस्रो बनेका छन् । उता नेपाली कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका सुवास तिमल्सिनाले ४ हजार १ सय ५ मत ल्याएर दोस्रो बन्दा कांग्रेसकै उपाध्यक्ष उम्मेदवार सरुले भने ४ हजार ३ सय ९४ मत ल्याएर विजयी बनिन् ।
त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार रहेका नारायणकाजी श्रेष्ठले ३ हजार ३८ मत ल्याएर तेस्रो भइरहँदा एमालेकै उपाध्यक्ष उम्मेदवार सपना थापाले भने ३ हजार ६ सय ३३ मत ल्याएर दोस्रो बनिन् ।

यसैगरी बाह्रबिसे नगरपालिकाले नयाँ मेयर पाएको छ । नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार निमफुन्जो शेर्पालाइ भारी मतले पछि पार्दै नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण बस्नेत मेयर निर्वाचित भएका छन् । त्यस्तै उपमेयर नेपाली कांग्रेसको तर्फबाट मन्जु तामाङ विजयी भएकी छिन् । नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुशीला पाख्रिन पराजित भएकी छिन् । बाह्रबिसे नगरपालिका १,२,३,४,५, ८ र ९ नेपाली कांग्रेसका वडाध्यक्षले जित हात पार्दा नेकपा एमालेले ६ र ७ मा विजयी भएका छन् ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकाशीे गाउँपालिकामा नेपाली काग्रेसका उम्मेदवार पासाङ नुर्पु शेर्पा विजय भएका छन् । प्राप्त मत परिणाम अनुसार भोटेकोशीको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शेर्पाले २ हजार ६ सय ५ मत ल्याउदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा कांग्रेसकै दिछेन शेर्पा २ हजार ७ सय १२ मत ल्याएर विजयी भएकी छिन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार अमृतकुमार खडकाले २ हजार ४८ मत ल्याएर दोस्रो भएका छन भने एमालेबाटै उपाध्यक्ष पदकी उम्मेदवार सुन्तलीमाया श्रेष्ठले २ हजार ५ सय ५३ मत ल्याएर दोस्रो भएकी छिन् ।

त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका राजकुमार पौडेल र आशा गुरुङ (शेर्पा)ले क्रमशः १ हजार ७ सय ९४ र १ हजार ४ सय ९४ मत ल्याएर तेस्रो भएका छन् । पौडेल पालिकाको निवर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्रकुमार श्रेष्ठले ५ सय ३३ र एकीकृत समाजवादीका साङ्गे लामाले ८ सय ८१ मत ल्याएका थिए । यो पालिकामा ३ मा स्वतन्त्र उम्मेदवार र अरु ३ वडामा काग्रेस , एउटा वडामा एमालले जित हाँसिल गरेको हो ।

यसैगरी जिल्लाको हेलम्बु गाउँपालिकामा दोस्रो कार्यकालका लागि निमा ग्याल्जेन शेर्पा विजयी बनेका छन् । उनले ५ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् । शेर्पाले नेकपा (एमाले) का उम्मेदवार दावा लामालाई १ हजार ८२ मतले पछि पार्दै जित हाँसिल गरेका हुन् । एमालेका उम्मेदवार लामाले ४ हजार ६सय ४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट अप्सरा लम्साल लामिछानिले ५ हजार २ सय १४ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी ४ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । त्यहाँ १७ हजार ५ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

हेलम्बु गाउँपालिकाको लागि दोस्रो कार्यकाल निर्वाचित बनेका शेर्पा २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमालेका उम्मेदवार हस्त पण्डितलाई पराजित गरेका थिए ।
सिन्धुपाल्चोकमा दुई नगरपालिका सहित ८ पालिकाको मत परिणाम आउन बाँकी छ । निर्वाचन कार्यालयले जारी गरेको मत परिणाम अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्ण प्रसाद सापकोटाले झण्डै ३ हजार मतले अग्रता लिएका छन् । त्यस्तै एकीकृत समाजवादीबाट उपमेयरकी उम्मेदवार सीता थापाले एमालेकी उम्मेदवार बालकुमारी सापकोटालाई उछिन्दै एकहजार मतले अग्रता लिएकी छिन् । १३ र १४ वडाको मत परिणाम आउन बाँकी रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रको जित निश्चित जस्तै भएको छ ।

त्यस्तै माओवादी केन्द्रले जुगलमा रेशम स्याङबोले भारी मतले अग्रता लिएका छन् । त्यस्तै लिसंखुपाखरमा पनि माओवादी केन्द्रकै अग्रता छ ।
त्यस्तै त्रिपुरासुन्दरी र सुनकोशी नेपाली कांग्रेसले अग्रता लिएको छ भने पाँचपोखरी, ईन्द्रावती र मेलम्ची एमालेले अग्रता लिएको छ ।
ति पालिकाहरुको मत परिणाम आज बेलुका सम्म आइसक्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।