जिल्ला प्रशासन कार्यालयद्वारा एक सातका लागि सबै सेवा बन्द

दिनेश दुलाल
माघ ९, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोभिडको माहामारी बढेको भन्दै एक साताका लागि सबै सेवा बन्द गरेको छ ।

सिन्धुपाल्चोकमा समेत कोभिड–१९ को नयाँ भेरियण्ट ओमिक्रोन सहितको संक्रमणको दर बढेको भन्दै सोमबार देखि एक साताको लागि अत्यवश्यक समेतका सबै सेवा बन्द गरेको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना पत्र

जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत नाराण लघुद्वारा हस्ताक्षरित सेवा प्रवाह स्थति भएको सम्बन्धी जरुरी सूचनामा भनिएको छ–‘नयाँ भेरियन्ट ओमित्रक्रोन सहितको संक्रमणको दर अधिक रुपले बढीरहेको वर्तमान सन्दर्भमा यस कार्यालयका ४ जना अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भई हाल सुरक्षित रुपमा होम आईसोलेसनमा रहनु भएको र कार्यालयका अन्य कर्मचारीमा समेत कोरोनासंग मिल्ने विभिन्न लक्ष्यणहरु देखा परेको स्थितिलाई समेत मध्यनजर गरी मिति २०७८÷१०÷१० गते सोमबार देखि २०७८÷१०÷१६ गते आईतबार सम्म प्रशासन कार्यालयले दिने सेवाहरु स्थगित गरिएको व्योहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ सूचनामा बन्द गरिएको सेबाहरुमा नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण र प्रमुख जिल्ला अधिकारीले दस्तगत गर्नुपर्ने पेन्सन पट्टा, नामसारी, जन्म मिति, नामथर आदि सच्याउन खडा गरिने पर्चा आदेश तथा सिफारिस रहेको छ ।

स्मरण रहोस पछिल्लो समय जिल्लामा नयाँ भेरियन्ट फैलिएसंगै एकदर्जन भन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका प्रमुख अड्डाहरु मध्ये जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु उलेख्य मात्रमा आउने गरेका छन् ।