जिल्ला लिगको फाइनलमा सदाबहार र साँगाचोक भिड्दै
अशोक पराजुली
पुष १२, लामोसाँघु । लामोसाँघु स्थित वसन्तपुर खेलमैदानमा जारी सिन्धुपाल्चोक जिल्ला फुटबल संघले आयोजना गरेको जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा न्यू सदाबहार युवा क्लब खाडिचौर र साँगाचोक युवा क्लब साँगाचोक फाइनल प्रवेश गरेका छन् ।
अखिल नेपाल फुटबल संघ “एन्फा“ को वार्षिक कार्यपात्रो र सिन्धुपाल्चोक जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगितको सोमबार भएको पहिलो सेमिफाइनल खेल समूह “ए“ बिजेता न्यू सदाबहार युवा क्लब र समूह “बि“ को उपविजेता चौतारा स्पोर्टिङ क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा न्यू सदाबहारले चौतारा स्पोर्टिङ क्लबलाई १–० गोलको अन्तरले हराउदै सदाबहार जित सँगै फाइनल प्रवेश गरेको छ ।
त्यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनल खेल समुह “बि“ को विजेता राइजिङ युथ क्लब र समुह “ए“ को उपविजेता साँगाचोक युवा क्लब बिचको रोमाञ्चक खेलमा राइजिङ क्लबले पहिलो हाफमा २ गोल गरेको थियोे । पहिलो हाफमा गोल गर्न नसकेको साँगाचोक युवा क्लबले दोस्रो हाफपछि आक्रामक ढंगले प्रस्तुत भएको साँगाचोक युवा क्लबले २ गोल नै गर्न सफल भयो । निर्धारित समयमा दुबै समुहको गोल बराबर भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४–२ अन्तरले हराउदै साँगाचोक युवा क्लब जितका साथ आफ्नो लिग फुटबलमा फाइनलको यात्रा तय गरेको छ ।
जिल्ला लिग फुटबल प्रतियोगितको फाइनल खेल सदाबहार युवा क्लब खाडिचौर र साँगाचोक युवा क्लब साँगाचोक बिच मंगलबार १ः३० बजे लामोसाँघु स्थित वसन्तपुर खेलमैदानमा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने जिल्ला लिग संयोजक मन कुमार श्रेष्ठले बताएका छन्। उनका अनुसार प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला फुटबल संघमा आबद्ध ८ क्लबको सहभागिता रहेको थियो । त्यसमा समूह “ए“ र समूह “बि“ गरि दुई समुहमा लिगको आधारमा खेल खेलाइएको र “ए“ मा ४ क्लब र “बि“ मा ४ क्लब रहेका थिए ।
प्रतियोगितामा प्रथम बिजयी टिमलाई नगद एक लाख ११ हजार एक सय ११,शील्ड,मेडल र प्रमाणपत्र , दोश्रो हुने टीमलाई नगद ५५ हजार पाँच सय ५५,शील्ड,मेडल र प्रमाणपत्र र प्रत्येक खेलमा सहभागी भई बिजयी हुने टीमलाई तीन हजार टोकन मनी उपलब्ध गराइने पनि अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा सहयोग बलेफी गाउँपालिका,ब्ल्याक हर्स सुज,प्राबिधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । जिल्ला लिग फुटबल प्रतियोगिता पौष ५ गते देखि सुरु भएको थियो ।