सिन्धु काभ्रे सिमा विवाद उत्कर्षमा, बन्देउ क्षेत्रमा दुवै जिल्लाको दावी

अशोक पराजुली ÷ बन्देउ
सिन्धुपाल्चोक र काभ्रे जिल्लाको सिमाना विवाद चरम उत्कर्षमा पुगेको छ ।
सिमा विवादकै कारण आज अरनिको राजमार्ग बचाउ अभियान सिन्धुपाल्चोकले बन्देउमा १ घन्टा चक्काजाम कार्यक्रमको आयोजना ग¥यो । चक्काजाम कार्यक्रमको नेतृत्व गरेका नेकपा ( माओवादी केन्द्र ) का नेता तथा अधिबक्ता रोशनराज गिरीले सिन्धुपाल्चोक जिल्लाको सिमाना दोलालघाट सुनकोशी र इन्द्रावती नदीको संगमस्थल रहेको सबै कुराले प्रष्ट हुँदाहुँदै काभ्रे जिल्लाले हेपाहा प्रवृत्ति देखाएर अतिक्रमण गर्नु नाजायज रहेको बताए ।

काभ्रे जिल्ला भुम्लु गाउँपालिकाले बन्देउ नजिकैबाट अरनिको राजमार्गलाई नै असर पर्नेगरी खोला बगरमा जाने नयाँ सडक ट्र्याक खनेपछि विवादले नयाँ रुप लिएको हो ।

शुक्रबार मात्रै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसि तामाङले बन्देउ र त्यस क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा नगर प्रमुख तामाङले “ दोलालघाट सम्मको भुमि सिन्धुपाल्चोकमा नै रहेको विगतदेखिका तथ्य प्रमाणबाट प्रष्ट हुन्छ । हामीले सबै तथ्य प्रमाणका आधारमा हाम्रो सिन्धुपाल्चोकको भुमि भनेका हौं ।

त्यसैले हाम्रो भुमि हामी एक इन्च पनि छाड्दैनौ । विवाद गर्न आउने पक्षले आफ्नो भुमि भएको प्रमाण लिएर आउन सक्दैन किनकि उहाँहरुसँग केहि तथ्य प्रमाण नै छैन । “ मेयर तामाङले थप प्रष्ट पार्दै भने –हेपाहा प्रवृत्तिले अब काम गर्दैन । मैले भुम्लु पालिकाको अध्यक्ष उपाध्यक्षसँग पनि पटकपटक कुरा गरेको छु । उहाँहरु आफ्नो पालिका भन्नू हुन्छ तर कुनै आधार दिन सक्नुहुन्न । पालिका उपाध्यक्ष आफैं आएर विवाद उत्पन्न गराउन कृयाशिल हुनुहुन्छ । म उहाँलाई अनुरोध गर्न चाहन्छु कि छलफलमा बसौं । आ आफ्ना तथ्य प्रमाण पेस गरौं । उच्च तह सम्म बहस छलफल गर्न आफुहरु तयार रहेको तामाङले बताए ।

तर भुम्लु गाउँपालिकाका अध्यक्ष गुमनध्वज कुँवर तथा उपाध्यक्ष कल्पना श्रेष्ठले यस विषयमा खासै कुरा गर्न चाहेनन् । पालिका अध्यक्ष तथा उपाध्यक्षसँग यस विषयमा सिन्धु ज्वालाले कुरा गर्न खोज्दा अहिले कार्यक्रममा ब्यस्त रहेकोले पछि कुरा गरौंला भनेर तर्किए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका वडा सदस्य तथा नेकपा ( माओवादी केन्द्र ) का जिल्ला सदस्य दधिराम पराजुलीले “यो सिमा विवाद नै हैन । सिमा त प्रष्ट छ त २०३३ को राजपत्रमै प्रकाशित छ । नेपालको नक्सा,जिल्लाको नक्सा,पछिल्लो पटक सार्वजनिक भएको पालिकाहरुले प्रकाशित गरेका नक्साबाट नै प्रष्ट हुन्छ । उहाँहरूले प्रकाशित गरेको भुम्लु गाउँपालिकाकै नक्सामा हेरौं न कहाँ छ उहाँहरूको नक्सामा यो भु भाग ?

हाम्रो हाम्रो भनेर मात्रै हुन्छ ? हाम्रो भन्ने आधार प्रमाण चाहिदैन ? अर्को जिल्लाको भु भागमा आएर अतिक्रमण गर्न पाइन्छ ? हामी एक इन्च जमिन अतिक्रमण हुन दिदैनौ । प्रशासनिक ढंगले यो समस्याको हल होस् भन्न चाहन्छौ ।“विगत २० औं बर्ष अगाडि देखि बन्देउ,दोलालघाट,बन्देउटार क्षेत्र विवादित रहेको छ ।

दुई जिल्ला बिचको सिमा विवादलाई नै लिएर सर्बोच्च अदालतमा समेत मुद्दा दाएर गरिएको छ र मुद्दा विचाराधीन रहेको अधिबक्ता रोशनराज गिरीले बताए ।सिमा विवाद समाधानको निमित्त उच्च राजनीतिक तहमै गम्भीर छलफल आवश्यक छ । जस्ले राजनीतिक ढंगले यो समस्यालाई हल गर्नको निमित्त दिशा निर्देश गर्नेछ या त अदालतको निर्णय पर्खनुपर्ने हुन्छ ।