सिएमसी पीडितको समस्या अझै टरेन, आयोजनामा अवरोध कायमै

असार १९, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्थानीय सप्लायर्स तथा मजदुरहरुले आफ्नो माग सुनाई नभएको भन्दै आन्दोलनलाई जारी राखेका छन् ।
उनीहरुले गत भाद्र २७ गते सचिव र आन्दोलनकारी बीचको ५ वुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आयोजना निर्माण सामग्री ढुवानी गर्ने यातायातको साधनहरु सञ्चालनमा रोक लगाउने बताएका छन् ।

पिडितको माग अझै सम्वोधन नभएपछि थप कदम चाल्नु परेको मेलम्ची खानेपानी आयोजना सियमसी पीडित संघर्ष समिति संयोजक विष्णुमणी आचार्यले सिन्धुज्वालालाई बताए । ‘उहाँहरुले कतै पीडितको माग सम्वोधन गर्ने छनक देखाउनु भएन, आन्दोलन जारी राख्नुको विकल्प छैन’, आचार्यले भने ।

खानेपानी सचिव माधव वेलवासेको बेईमानी र लाचरीका कारण पीडित आन्दोलनमा जान वाध्य बनाएको उनले बताए । उनका अनुसार आयोजनाले पूर्व सहमति अनुसार प्राविधिक समितिको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको छ । त्यस्तै जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ र खानेपानी विकास समितिका उपकार्यकारी रामप्रसाद खरेल सदस्य सचिव रहेको कार्यादलको प्रतिवेदनलाई अवेज्ञा गरेको आचार्यको ठहर छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङको पटक–पटकको पहललाई समेत वेवास्ता गरिएको उनले बताए । ‘सिन्धुवासी पानी विरोधी हुन भन्ने भ्रम छर्न चाहेको देखियो’, संघर्ष समितिका संयोजक आचार्यले भने ।
खानेपानीमन्त्री र सचिवको समन्वय नभएको कारण लेभि रोयल्टी वा लाभ वाँडफाँड बारे अहिले सम्म एकिन नगरेको उनले बताए ।
विकास निर्माणमा भन्दा कमिशनमा ध्यान दिने गरेको कारण समस्या जाहाँको त्याँहि रहेको उनले आरोप लगाए ।

पीडितहरुले पाउनुपर्ने बाँकी रकम भुक्तानी सुनिश्चित नहुँदा सम्म आन्दोलन शान्तीपूर्ण जारी रहने मेलम्ची आयोजना सियमसी पीडित संघर्ष समिति संयोजक आचार्यले बताए ।