माओवादी आन्दोलनको विचलनसँगै उदाएका ओली !!

नेपालको कम्युनिष्ट पार्टीहरूसँग सांस्कृतिक रूपान्तरणको आवधिक कार्ययोजना नभएको हुनाले जहिले पनि त्यो धार्मिकतातिर, अथवा त्यसको समर्थक बन्नेतिरको सम्भावना जीवित भएको आन्दोलन हो ।
यसरी बहुदलीय जनवाद हुँदै तीव्र रूपमा पूँजीवादी बन्दै गएको पार्टीको नेतृत्वको रूपमा विस्तारै केपी ओलीको उदय भयो । वास्तवमा उनी व्यवस्थित ढङ्गको दार्शनिक प्रणालीमा बहस विवेचना गर्न सक्ने मान्छे पनि होइनन् । उनको त्यस्तो कुनै योगदान पनि छैन । नेपाली समाजलाई, उनकै पार्टीलाई पनि नयाँ ढङ्गले प्रशिक्षित गर्न उनीसँग कुनै लाइन छैन । दार्शनिक तहमा पनि छैन, संगठनात्मक रूपमा पनि छैन ।
त्यसो त, नियमित प्रक्रिया अन्तर्गत कोही न कोही अध्यक्ष हुने प्रणालीमा उनी आइपुगे । केपी ओलीको उदय एकप्रकारको अनिवार्यता हो । ओली अध्यक्ष नभएको भए छिचरो वचन नबोल्ने बाहेक त्यो राजनीति गर्ने अर्को नेताले के गर्दथ्यो ? त्यही त हो कार्यदिशा त । गर्ने काम त यस्तै हुन्थ्यो । अर्को कुनै पात्रभन्दा ओली बोली वचन र शैलीमा मात्र फरक हुन् ।
ओलीको उदय माओवादी आन्दोलनको विचलनको पृष्ठभूमिमा भएको हो । माओवादी क्रान्तिकारी रहिरहेको भए ओलीहरू जन्मन सम्भव थिएन । पहिलो संविधानसभामा ओलीहरू जन्मिएनन्, टाउकै उठाउनै सकेनन् । किनकि क्रान्तिकारी आन्दोलनको राजनीति बलशाली थियो । दोस्रो संविधानसभासम्म पुग्दा माओवादी आन्दोलन विचलित भयो । एकप्रकारको तीव्रतामा पतनको दिशामा गयो । वैचारिक पतन र राजनीतिक पतन सँगसँगै भयो । यसले संगठनात्मक रूपमा पनि टुटफुटको लामो श्रृङ्खला हुर्केर गयो । त्यसको विकल्पमा कोही आउनुप¥यो । विकल्पमा आउनका निम्ति पुरानो राजतन्त्र, पञ्च टाइपको आउन त सम्भव थिएन । दक्षिणपन्थ आउनै पर्दथ्यो ।
संयोगले ओली त्यतिबेला आफ्नो पार्टीको अध्यक्ष थिए । त्यसकारण उनी नेता हुने भए । उनी आउँदा उनले दुइटा महत्वपूर्ण ठाउँ पाए । एउटा माओवादीको समग्र राजनीतिको पतनको यात्रा, त्यसबाट मान्छेहरूमा जन्मेको निराशा । अर्को अवसर उनले के पाए भने माओवादी आन्दोलनले उठाएका न्यायपूर्ण मुद्दाहरूबाट झस्किएको मध्यम वर्गको साथ पाउने स्थिति बन्यो ।
धर्मनिरपेक्षताबाट मध्यम वर्गदेखि माथिका मानिस झस्किएका हुन् । जनतामा पनि एकदमै धर्मान्ध र रुढिवादी तप्का झस्किएकै हो । संघीयताको कुरा गर्दा माथि माथि बसेर खाइरहेको वर्गलाई त रीस उठिरहेको पृष्ठभूमि पनि ओलीसँग भयो । दलित, महिला, जनजातिले उठाइरहेको न्यायपूर्ण मुद्दाबाट घाटाको अनुभूति गरिरहेका कथित हिन्दू उच्च जातको शासक वर्ग र समुदाय पनि झस्किइरहेका थिए । यी सबै कुराको सम्बोधन गर्ने पात्र पनि चाहिएको थियो । यो पृष्ठभूमिमा ओली अगाडि आए ।
ओलीसँग एउटा मात्रै आम जनतालाई झुक्याउने समृद्धिको मुद्दा थियो । समृद्धि सबैलाई चाहिएको थियो । यो मुद्दा उठाएर पनि उनी भ्रम दिन सफल भए । तर, उनको जग रुढिवादी नै थियो । प्रगतिशील नाराहरूले हारेको र प्रगतिशील नाराहरूको कारणले झस्किएको मध्यम वर्गदेखि माथिको वर्ग र रुढिवादी वर्गले नेता खोजिरहेको बेला ओलीले त्यसको नेतृत्व गर्ने अवसर पाए ।
यो पृष्ठभूमिमा उनले अनिवार्य रूपमा रुढिवाद र धार्मिक अन्धतालाई प्रश्रय नदिइकन, राजावादीहरूको पनि एउटा हिस्सालाई प्रश्रय नदिइकन उनको अस्तित्वको कल्पनै गर्न सकिंदैनथ्यो । त्यसकारणले उनले त्यो गर्नैपर्दथ्यो । त्यो नगरी उनको धार नै टिक्दैनथ्यो ।
ओलीको अहिलेको राजनीतिक लाइन जसरी हुन्छ शासक बन्ने हो । कसको शासक बन्ने भन्ने छैन । कुन वर्गको शासक बन्ने भन्ने उनको सरोकार होइन । जसरी हुन्छ शासक बन्ने भनेपछि स्वाभाविक रूपमा यहाँको परम्परागत शासक र सबैभन्दा रुढिग्रस्त जनताको मत झुक्याएर लिने हुन्छ । यसको निम्ति उनले धार्मिक अन्धतालाई प्रयोग गर्नु स्वाभाविक थियो र उनले यो प्रयोग गरिराखेका छन् ।