पाँचपोखरी नवलपुर जोड्ने मेलम्ची खोलाको अस्थायी पुल बगाएपछि आवातजावत ठप्प

असोज ३१, मेलम्ची । पाँचपोखरी र नवलपुर जोड्ने मेलम्ची खोलाको अस्थायी पुल बगाएको छ । गएराती आएको बाढीले अस्थायी ‘ह्युमपाइप पुल’ बगाएपछि पाँँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका तथा सदरमुकाम चौतारा पुग्नको लागि पुनः अवरुद्व भएको छ ।


गएराती मेलम्ची खोलामा आएको बाढीले पाँचपोखरी र नवलपुर जोड्ने अस्थायी ‘ह्युमपाइप पुल’ मा पुगेको क्षति

गएरातीको भिषण वर्षाका कारण उक्त अस्थायी ‘ह्युमपाइप पुल’ बगाए संगै फेरी केहि समयको लागी यातायात तथा सर्वसाधारणका लागि आवतजावत बन्द भएको मेलम्चीका स्थानीय सिपी दुलालले जानकारी दिए । ‘बाढीले केही ह्युमपाइप बगाएको छ, केही दिन अवरुद्व हुन्छ’, दुलालले भने । तर ठूलो क्षति नभएकोले पानीको सतह घटेसंगै केही दिनमै सुचारु हुने उनले बताए ।

मेलम्ची बाढीले पुल नै बगाएर आवात जावात बन्द भएको पाँचपोखरी, मेलम्ची–शिखरपुर अस्थाई ’ह्युमपाइप’ राखिए पछि जोडिएको थियो । गत असार १ र १६ गते आएको बाढीले शिखरपुर जोडिने पुल बगाएको थियो । मेलम्चीबाट शिखरपुर हुँदै सदरमुकाम आईपुग्न प्रयोग भएको मोटरवेल पुल बाढीले बगाएपछि सर्वसाधारणलाई निकै सकस परेको थियो । हेलम्बु र मेलम्चीका सर्वसाधारणलाई राहदानी, नागरिकता तथा मालपोत कार्यालयमा सेवा लिन आउन उक्त पुल नहुँदा जिरोकिलो हँुदै आउन पर्ने वाध्यता थियो । तीनसाता अघि पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको सक्रियता र पहलमा ‘ह्युमपाइप पुल’ राखिएपछि यतायातका साधन लगाएत सर्वसाधारणलाई इन्द्रावती नदि पार गर्न सहज भएको थियो ।

अस्थायी ‘ह्युमपाइप पुल’ को लागी स्थानीय व्यापारी, विभिन्न संगठनमा आवद्व युवा, तथा पार्टीका कार्यकर्ता, सेना तथा प्रहरीको सहयोगमा निर्माण भएको थियो ।

पक्की मोटरवेल पुल लगाएत भौतिक संरचना निर्माणको लागि नेपाल सरकारले छिट्टै निर्माण गरिने बताएपनि अहिले सम्म बजेटको कुनै टुङ्गो लागेको छैन् । हेलम्बु र मेलम्चीमा आएको बाढीले यो क्षेत्रमा चारवटा मोटरवेल पुल तथा आधा दर्जन झोलङ्गे पुल बगाएको थियो ।
असारमा आएको विनासकारी बाढीले स्थानीयको व्यक्तिगत सम्पति बाहेक सडक, पुल लगाएत भौतिक संरचना अनुमानित डेड अर्ब भन्दा माथि क्षति पुगेको बताईन्छ ।